कर्णाली राजमार्ग बाढीले क्षतिग्रस्त, यातायात अवरुद्ध

Break n Links
Break n Links

निरन्तरको वर्षापछि आएको पहिरोले कर्णाली राजमार्ग अवरुद्ध भएको छ। साविक कर्णालीको जुम्ला, कालिकोट, मुगु जोड्ने एकमात्र राष्ट्रिय राजमार्ग कर्णाली राजमार्ग पूर्ण रुपमा अवरुद्ध भएको हो।

बुधबार रातिदेखि भएको अविरल वर्षापछि गगने खोलामा आएको बाढीले सडक र दही खोलामा आएको बाढीले पूल नै बगाउँदा राजमार्ग पूर्ण रुपमा बन्द भएको हो।

गगने, एस मोड, दैखोला र मेहर खोलामा आएको बाढीले राजमार्ग अवरुद्ध भएको सडक डिभिजन जुम्लाका प्रमुख चेतन कुमार मण्डलले बताए।

उनका अनुसार तीन ठाउँमा ठुलो पहिरोसहित हुल्म, जिते, जितेगडा, सेरिघाट लगायतका स्थान ससाना पहिरो आएको पनि उनले जानकारी दिए। सडक खुल्न तीन दिन लाग्ने जनाइएको छ।

सडक डिभिजन जुम्लाको कार्यक्षेत्र दैखोला–जुम्लाको १०४ किमी क्षेत्रभित्र निरन्तर पहिरोले यात्रा सास्तीपूर्ण बनेको छ।

विशेषगरी शुभकालिका गाउँपालिका जानका लागि निर्माण गरिएको ग्रामीण सडक पनि अवरुद्ध छ। गगने खोला क्षेत्रमा सडक नै भिरालो भएको छ।

डिभिजनबाट मेसिनसहित पहिरो पन्छाउन जनशक्ति परिचालन भइरहेका छन्। तर साना ठुला गरी दर्जन बढी गाउँमा पहिरो आएकाले सडक खुल्न तीनदेखि चारदिन लाग्ने सडक डिभिजन अनुमान गरेको छ।

दैखोलामा पुल नै बगाउँदा खोलामा एक मालबहाक ट्रक समेत फसेको छ। गगने खोलामा वर्षेनी पहिरो जाँदा यात्रुहरुले सास्ती खेप्दै आएका छन्।

सडक अवरुद्ध भएपछि जुम्ला कालिकोट मुगुबाट सुर्खेत नेपालगन्ज जाने सवारी रोकिएका छन्। स्याउ बोकेर गएका मालवाहक सवारी पनि रोकिँदा स्याउ कुहिन सक्ने चिन्तामा व्यापारी छन्।

२ सय ३२ किलोमिटर लामो कर्णाली राजमार्ग सुर्खेत–जुम्ला सडक वर्षा लागेपछि बेला–बेला पहिरोले अवरुद्ध हुँदै आएको छ। हालसम्म चार दर्जन भन्दा बढी पहिरो गएपनि यस वर्ष हाल सम्मकै ठुलो पहिरो गगने खोला आएको हो।

प्रकाशित मिति: : 2024-08-29 16:49:00

प्रतिकृया दिनुहोस्