काठमाडौँको तिनकुनेमा रहेकाे नमस्ते बचत तथा ऋण सहकारी संस्था लिमिटेडका अध्यक्ष रबिन्द्र थापा जमानी हाजिरीमा छुटेर फरार भएका छन्।
उक्त सहकारीमा भएको आर्थिक अनियमिततामा मुछिएका अध्यक्ष थापा पक्राउ परेपनि शक्तिको आडमा जमानीमा छुटेर फरार भएकाे बताइएकाे छ।
९ जना सञ्चालक समिति सदस्य रहेको सहकारीका सचिवलाई इन्टरपोलमार्फत कतारदेखि नेपाल झिकाइ मुद्दा चलाएर जेल चलान गरिएको छ। तर अध्यक्ष थापा भने जमानी हाजिरमा धरौटीमा छुटेका हुन्। अध्यक्ष थापा सम्पर्कविहीन भएपछि थप अनुसन्धान प्रभावित भएकाे छ।
सहकारीका अध्यक्ष थापाका दाजु भारतका कार्यकारी राजदूत डा.सुरेन्द्र थापा हुन्। उनै दाजुको शक्तिको दुरुपयोग गर्दै अध्यक्ष थापा आफू हाजिर जमानतमा छुट्न सफल भएका हुन्।
२०८० माघ १० गते सर्लाही लालबन्दी-१० का समिरकुमार दाहल र धनकुटाका हिरा बहादुर भट्टराईको जमानी हाजिरीमा छुटेका अध्यक्ष थापा अहिले भने सम्पर्कविहीन बनेका हुन्।
शक्तिकै खेलमा सहकारीका सञ्चालक समितिको कोषाध्यक्ष पदमा रहेका अध्यक्ष थापाका साला श्रवण मगर, लेखा समितिमा रहेकी अध्यक्ष थापाकै श्रीमती श्रद्धा मगरलगायतलाई पक्राउ पुर्जी जारी भएको ३ महिना बढी समय भइसक्दा पनि पक्राउ हुन सकेका छैनन्।
इन्टरपोलको सहयोग र कतार प्रहरीसँगको समन्वयमा सचिव गणेश सिजापतिलाई इन्टरपोलमार्फत कतारबाट पक्राउ गरी नेपाल ल्याइएकाे छ। तर सहकारीका अन्य पदाधिकारीहरु फरार छन्।
नागरिकले सहकारीमा जम्मा गरेको पैसा हिनामिना गर्ने सबै जिम्मेवार व्यक्तिहरुलाई पक्राउ गरी कानुनी दायरामा ल्याई बचत रकम फिर्ताको सुनिश्चितता गर्नुपर्नेमा शक्तिको आडमा अध्यक्षलगायत सबैजसो पदाधिकारी नै सम्पर्कविहीन र फरार रहेको अवस्थामा बचत गुम्ने भन्दै बचतकर्ता चिन्तामा छन्।
नाम नबताउने शर्तमा एकजना बचतकर्ताले भने, ‘अध्यक्ष थापाका मान्छे हौँ भन्नेहरुबाट धम्की आइरहन्छ, त्यसैले सन्त्रास छाएको छ।’ अध्यक्ष थापा हिमालयन ह्वाईटहाउस कन्सलटेन्सी र त्रिपुरेश्वरमा रहेको एस.मेडिकेयरमा समेत आवद्ध रहेको बचतकर्ताहरुको भनाई छ।
प्रहरीको बानेश्वर वृत्तबाट उनका दाजु जितेन्द्र थापासहित सहकारीका कर्जावाहक हिराबहादुर भट्टराई र समिर कुमार दाहालको संयुक्त जमानीमा प्रहरीले बोलाएको समयमा उपस्थित हुने शर्तमा रिहा भएका थिए।
उता इन्टरपोलमार्फत पक्राउ भएर नेपाल ल्याइएका सहकारीका सचिव गणेश सिजापती सहकारीमा आफू नाम मात्रैको पदमा बसेको र अध्यक्षलगायत अन्य पदाधिकारीहरु अध्यक्षकै नातेदारहरु भएको बताउँछन्। साथै सबै अनियमितता अध्यक्षलगायत अन्य पदाधिकारीहरुले गरेको हुनसक्ने भन्दै सहकारीका सबै पदाधिकारीहरुलाई पक्राउ गरी निष्पक्ष छानबिन हुनुपर्ने दावी गर्छन्।