गृहमन्त्री रमेश लेखकले सरकारको पहिलो प्राथमिकता भनेकै नागरिकलाई सेवा प्रदान गर्नु रहेको बताएका छन्।
बुधबार महेन्द्रनगरस्थित नेपाल प्रहरी प्रदेश कार्यालय महेन्द्रनगरको नवनिर्मित भवनको समुद्घाटन समारोहमा बोल्दै उनले प्रहरीको सुविधासम्पन्न भवन निमार्णले नागरिकलाई सेवा प्रदान सहज हुने बताए।
उनले भने, ‘अहिले प्रहरीले समिति स्रोतसाधनमा काम गर्नुपरेको छ। नवनिर्मित भवनले सेवाप्रवाहमा सहज हुनेछ।’
उनले नेपाल प्रहरीलाई समयानुकुल अनुसन्धानका लागि समेत अब्बल बनाउनुपर्ने धारण व्यक्त गरे। पछिल्लो समय साइवर अपराधहरु बढिरहेकाले प्रहरीले परम्परागत अपराध बाहेक साइवर अपराधमा पनि अनुसन्धान गर्नु परेको उनको भनाई थियो।
त्यसैगरी कार्यक्रममा बोल्दै उनले संसदमा भएका दुई ठुला दलहरु बीत सहमति भएर नयाँ राजनीतिक समीकरण बनाएको बताए।
‘दुई दलबीच सात बुँदे सहमति भएर सरकार निमार्ण भएको छ। कांग्रेस र एमाले मिलेर अन्तरिम संविधान बनायौँ, सशस्त्र द्वन्द्वलाई शान्तिमा ल्यायौँ’, उनले भने।
उनले मुलुकमा दुई ठुला दल मिलेर ऐतिहासिक काम गरेको स्मरण गर्दै अहिले पनि संसदका दुई ठुला दलहरु मिलेर देशको विशष्टि कार्यभार सम्हाल्न एक ठाउँमा उभिएको बताए।
उनले एमाले र कांग्रेसबीच भएको सातबुँदे सहमति कार्यान्वयनमा कुनै शंका नर्गन समेत आग्रह गरे।
उक्त समारोहमा नेपाल प्रहरीका महानिरिक्षक बसन्त कुँवरले सम्पूर्ण नागकिरहरुले गुणस्तरीय सेवा प्राप्त गर्न सकुन भन्ने उदेश्यले पूर्वाधार विकासमा जोड दिएको बताए।
उनले भने, ‘नेपाल प्रहरीको मुख्य जिम्मेवारी अपराध अनुसन्धान भनेको सहज र सामान्य विषय होइन। प्रहरीको कार्य उपलब्ध पूर्वाधार कानुन र समाजको सहकार्यमा भर पर्दछ।’