राष्ट्रपति रामचन्द्र पौडेलले राज्यमाथि जनताको पहुँच र स्वामित्व स्थापित गर्नका लागि निर्वाचन स्वच्छ, निष्पक्ष र धाँधलीरहित हुनुपर्ने बताएका छन्।
दक्षिण एसियाली मुलुकका निर्वाचन निकायहरुको साझा मञ्चको १२औँ सम्मेलनमा सहभागिता हुन नेपाल आएका मञ्चका सदस्य मुलुकहरुका प्रमुख निर्वाचन आयुक्तहरूसँगकाे भेटमा राष्ट्रपति पौडेलले यस्ताे बताएका हुन्।
उनले आवधिक निर्वाचन लोकतन्त्रको आधार स्तम्भ भएको बताउँदै राज्यमाथि जनताको पहुँच र स्वामित्व यसैबाट स्थापित हुने स्पष्ट पारे।
राष्ट्रपति पौडेलले सम्मेलनले दक्षिण एशियाका मुलुकहरूमा हुने निर्वाचनलाई व्यवस्थित गर्दै अझ स्वतन्त्र, निष्पक्ष र भयरहित बनाउन सहयोगी सिद्धहोस् भन्ने शुभकामना दिए।
‘समग्र दक्षिण एशिया क्षेत्रमा स्वच्छ, पारदर्शी र विश्वसनीय निर्वाचन प्रणालीको माध्यमद्वारा लोकतन्त्रको प्रवर्द्धन र सुदृढीकरणका लागि यस संस्थामार्फत यहाँहरुको अमूल्य योगदान निरन्तररुपमा रहनेमा म विश्वस्त छु’, राष्ट्रपतिको भनाईलाई उद्धृत गर्दै उनको सचिवालयले जानकारी दिए।
राष्ट्रपति पौडेलले आगामी दिनमा अध्यक्ष राष्ट्रको हैसियतमा अन्य सदस्य मुलुकहरुसँग यस संस्थाको साझा उद्देश्यहरु प्राप्त गर्न र चुनौतिहरु विरुद्ध सामूहिकरुपमा सामना गर्नका लागि आपसी सहयोग र सहकार्यलाई अझ सुदृद्ध बनाउन नेपाल प्रतिवद्ध रहने समेत स्पष्ट पारे।