संविधान दिवस भव्य रुपमा मनाउन मुख्यमन्त्री आचार्यको आह्वान

लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले संविधान दिवस जनस्तरबाट भव्य रुपमा मनाउन आह्वान गरेका छन्।

मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा सम्पन्न संविधान तथा राष्ट्रिय दिवस मूल समारोह समितिको आइतबार बसेको बैठकलाई सम्बाेधन गर्दै मुख्यमन्त्री आचार्यले संविधान दिवसलाई भव्य रुपमा मनाउन आह्वान गरेका हुन्।

उनले सुशासन, सामाजिक न्याय र समृद्धिको माध्यमबाट लुम्बिनी प्रदेशको समग्र विकासलाई जनतासामु पुर्याउन संविधानको कार्यान्वयनमा प्रदेश सरकार प्रतिबद्ध रहेको बताए।

प्रदेश सरकारले संविधान दिवसलाई भव्य रुपमा मनाउने निर्णय यसअघि गरिसकेको छ। आगामी असोज २, ३ र ४ गते तीन दिनसम्म प्रदेशभित्र विभिन्न कार्यक्रम आयोजना गर्न थालिएको हो।

असोज २ गते प्रदेशस्थित सबै सरकारी कार्यालयहरुमा राष्ट्रिय झण्डा फहराउने, कार्यालय परिसरमा सरसफाई गर्ने, स्वास्थ्य मन्त्रालयको समन्वयमा निःशुल्क स्वास्थ्य परीक्षण जाँच कार्यक्रम सञ्चालन गर्ने, प्रदेश सरकारी निकायका वेभसाइडमा संविधान दिवस तथा राष्ट्रिय दिवस भव्य रुपले मनाउनेबारेमा सूचनाहरु सार्वजनिक गर्ने, संविधान कार्यान्वयनको पहिलो दशकः उपलब्धि र चुनौती विषय विज्ञसँग छलफल कार्यक्रम सञ्चालन गर्ने, जसको लागि फेडरलिजम एण्ड लोकलाइजेसन सेन्टरसंग समन्वय गरिने भएको छ। आमा नागरिकलाई तीन दिन आ–आफ्नो घरको छत, वरण्डामा दिपावलि गर्न आह्वान गरिएको छ।

असोज ३ गते संविधान दिवसको मुल समारोह आयोजना गरिने छ। विभिन्न सांस्कृतिक झाँकी सहित विहान प्रभातफेरीको आयोजना गरिने भएको हो।

लुम्बिनी प्रदेश राजधानी परिसर क्षेत्र राप्ती उपत्यका देउखुरीमा मुल समारोह आयोजना गरिने र सो कार्यक्रमको प्रत्यक्ष प्रशारण आम सञ्चारका माध्यमबाट गर्न आह्वान गरिएको छ।

यस्तै असोज ४ गते उपयुक्त स्थान पहिचान गरेर प्रदेश सरकारका मन्त्रालय, निर्देशनालय कार्यालयलय सम्बद्ध सरोकारवालाहरुको समन्वयमा वृक्षारोपण कार्यक्रम गर्ने जनाईएको छ।

मुख्यमन्त्री आचार्यकाे अध्यक्षमा सम्पन्न बैठकमा प्रमुख प्रतिपक्ष दल नेता जाेखबहादुर महरा, संसदिय दलका नेता तथा प्रतिनिधि, मन्त्रीहरु, सचेतकसहित मन्त्रालयका सचिव तथा कर्मचारी, गैर सरकारी संस्था महासंघका प्रतिनिधि, पत्रकारहरुकाे सहभागीता थियाे।

प्रकाशित मिति: : 2024-09-15 14:05:00

प्रतिकृया दिनुहोस्