सभामुखले बोलाए कार्यव्यवस्था परामर्श समितिको बैठक

File Photo
File Photo

सभामुख देवराज घिमिरेले कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाएका छन्।

सभामुख घिमिरेले बैठक आज दिउँसो १२:४५ बजे संसद भवन नयाँ बानेश्वरमा बस्नेगरी बोलाएका हुन्।

बैठकमा हिउँदे अधिवेशन अन्त्य, प्रधानमन्त्रीको सम्बोधनसहित आजको प्रतिनिधिसभा बैठकको कार्यसूचीलगायत विषयमा छलफल हुने सभामुखको सचिवालयले जनाएको छ।

दिउँसो १ बजे बस्ने प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गर्ने कार्यसूचि रहेकाे छ।

सरकारले संघीय संसदकाे दुवै सदनको चालु अधिवेशन अन्त्य गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरिसकेको छ।

यसअघि आइतबारको बैठक माओवादी केन्द्रले संसदको अवरोध गर्ने अडान नछोडेपछि बस्दै नबसी स्थगित भएको थियो।

गत बुधबार बसेको बैठक माओवादी केन्द्रले अवरुद्ध गरेपछि स्थगित भएको थियो। संसदमा माओवादी जनयुद्धलाई लक्षित गर्दै प्रयोग भएको 'हिंसा' शब्द असंसदीय नभएको सभामुखले रुलिङ गरेपछि माओवादी केन्द्रले त्यसको विरोध गर्दै संसद अवरुद्ध गरेको थियो। अब माओवादी केन्द्रले सो रुलिङ फिर्ता नलिएसम्म संसदको अवरोध कायम राख्ने बताएको छ।

प्रकाशित मिति: : 2024-09-16 11:49:00

प्रतिकृया दिनुहोस्