रास्वपाकाे लडाइँ बल्ल सुरु हुँदैछ, हाम्राे लडाइँमा कसैको सिउँदो पुछिँदैन: रवि लामिछाने

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले आफूहरुलाई हार्ने छुट नभएको बताएका छन्।

प्रज्ञा प्रतिष्ठान कमलादीमा आजदेखि सुरू भएकाे पहिलो राष्ट्रिय भेलालाई सम्बोधन गर्दै उनले आफूहरुले शान्त विद्रोह गर्दै मतपत्रको माध्यमबाट परिवर्तन गर्ने बताए।

लामिछानेले आफूहरुको यात्रा सजिलो नभएकाले अहिले रास्वपा सकियो भन्नेहरुलाई रास्वपा नसकिएको बरू रास्वपाले सक्ने दाबी गरे।

‘रास्वपा सकिएको होइन, रास्वपाले सकाउँछ। लडाइँ बल्ल सुरु हुँदैछ। हाम्राे लडाइँमा कसैको सिउँदो पुछिदैन। शान्त विद्रोह गर्छौ’, उनले भने।

उनले व्यवस्था बदलिए पनि नागरिकको अवस्था नबदलिएपछि आफूहरुले हस्तक्षेप गर्न राजनीतिमा आएको भन्दै अहिलेसम्मको देशको परिवर्तनमा योगदान गरेकाहरुलाई आफूहरुले अवमुल्यन नगर्ने स्पष्ट गरे। 

सभापति लामिछानेले आफूहरु राम्रो-नराम्रो समस्याको चाङमा रहेको भन्दै आफूहरुको आगमन नै अरुको लागि समस्या बनेको बताए।

उनले आफूहरुको आक्रमण पनि ठुलो हुने हुनाले आफूहरुप्रतिको आक्रमण पनि ठुलो नै हुने भएकाले तयार रहन नेता कार्यकर्तालाई निर्देशनसमेत दिए।

प्रकाशित मिति: : 2024-09-17 10:38:00

प्रतिकृया दिनुहोस्