यसपालिको दशैंमा लगभग १२ देखि १५ लाख मानिसले राजधानी छोड्ने आँकलनसहित सरकारले सडक यातायातलाई सहज बनाउन लागेको छ।
त्यसका लागि यातायात व्यवसायीहरूसँग छलफल गरेर यही शनिबारदेखि बस टिकटको अग्रिम बुकिङ खुला गरिने भएको छ। घर पुगेर फर्किनका लागि पनि तिहारसम्मकै लागि अग्रिम बुकिङको व्यवस्था मिलाइएको छ।
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले घटस्थापनाअघिसम्म सडकका खाल्डाखुल्डीहरू पुर्नका लागि सडक विभागलाई निर्देशन दिएको छ।
टिकट बुकिङका लागि भने कार्यविधि र प्रविधिको अभावमा पूर्णतया अनलाइन प्रणाली हुन सकेको छैन। केही निजी कम्पनीहरूले यातायात कम्पनीहरूसँग मिलेर बसको टिकट अनलाइनबाटै लिन सकिने व्यवस्था मिलाएका छन्।
अनलाइनबाट बसको टिकट काट्ने सेवा प्रदान गर्दै आएको बससेवा डटकमले दसैँको अग्रिम टिकट बुकिङ खुला गरिसकेको छ।
बुकिङको प्राविधिक काम पूरा गरेको बससेवाले काठमाडौँ र पोखराबाट देशभरका ४४ गन्तव्यमा जाने बसको अग्रिम टिकट बुकिङ खुला गरेको हो।
काठमाडौँबाट अर्घाखाँची, भोजपुर, विराटनगर, वीरगन्ज, बिर्तामोड, बोदेबर्साइन, बुटवल र छेटछेट जाने यात्रुले बुधबारदेखि अग्रिम टिकट बुकिङ गर्न सक्छन्।
त्यसैगरी, काठमाडौँबाट दमक, धरान, गुल्मी, जनकपुर, काँकडभिट्टा, कृष्णनगर, लामाबगर, लुम्बिनी, पाल्पा, पोखरा, राजविराज, सिलगढी, मुक्तिनाथ, गौर, जोमसोम, चितवन, डडेलधुरा, नयाँ दिल्ली, धादिङ, धनगढी, पोखरा र स्याङ्जा जाने यात्रुले टिकट बुकिङ गर्न सक्ने बससेवाले जनाएको छ।
बससेवाका अनुसार पोखराबाट बर्दिया, भैरहवा, भुरीगाउँ, विराटनगर, वीरगन्ज, बुटवल, दाङ र धनगढी जाने यात्रुले पनि अग्रिम टिकट बुकिङ गर्न सक्नेछन्। अन्य गन्तव्यमा १२ गते शनिबारदेखि टिकट बुकिङ खुल्ला गर्ने र यात्रुले सोही दिनदेखि टिकट बुकिङ गर्न सक्ने बससेवाका प्रमुख कार्यकारी अधिकृत पिआर खनालले बताए।
खनालका अनुसार ७० भन्दा बढी जिल्लाका ४३३ गन्तव्यका लागि दैनिक ४२ हजारभन्दा बढी संख्यामा बससेवाबाट टिकट काट्न सकिनेछ।
साथै दसैँमा गएका यात्रुहरूले फर्किन पनि बससेवाबाटै टिकट काट्न सक्नेछन्। यात्रुहरूले बससेवा डटकम, तथा बससेवाको मोबाइल एप्लिकेसनबाट घरमा नै बसेर टिकट बुकिङ गर्न सक्ने बससेवाले जनाएको छ।
नेपालका कुनै पनि सहरको टिकट अनलाइनबाटै काट्न सकिने भएकाले यात्रुलाई टिकट काट्न बससेवा उचित माध्यम हुने बससेवाले जनाएको छ।
यातायात व्यवसायीसँगको छलफलपछि अनलाइनबाट बुकिङ सुरु गरिएको बससेवा डटकमका प्रमुख कार्यकारी अधिकृत खनालले बताए।
यात्रुबाहक बसलाई बस सेवा दिँदै आएका यातायात कम्पनीहरूले चार बर्गमा विभाजन गरेका छन्। राजधान आउने र बाहिर जिल्ला जाने बसहरूलाई सामान्य, डिलक्स, सुपर डिलक्स र भीआईपी वर्गीकरण गरिएको छ। यी बसहरूअनुसार भाडा पनि फरक फरक निर्धारण गरिएको छ।
यातायात व्यवस्था विभागले दशैभरिका लागि देशभरि नै रुट परमिटहरू खुला गरेको छ। तर बाटोको अवस्था हेरेर केही सवारी साधन भने निषेधित गरिएको छ। घटस्थापनादेखि टीकासम्मको दिनमा ठूला ढुवानीका सवारीकाहरूलाई मुख्य सडकमा रोक लगाइनेछ।
नौबिसे-मलेखु, गल्छी-बैरेनी, नारायणगढ-मुग्लिन, नारायणगढ-बुटवल, मुग्लिङ-पोखरा, अरनिको राजमार्ग, बीपी राजमार्ग लगायतका मुख्य तथा सहायक बाटोहरू अहिले पनि मर्मत भइरहेको छ। घटस्थापनाभन्दा अघि नै यी बाटोहरूमा दोहोरो चल्नसक्ने बनाउन यातायात विभाग लागिपरेको छ।