कहिँकतै कुनै ‘प्रणाली’मा नअलमलिने हो भने सामान्यता अक्टोबर २ अर्थात् असोज १६ गते मनसुनको मौसमी चक्र नेपालबाट बाहिरिइसक्नुपर्छ।
उसको समयरेखाको औसत हिसाबमा नेपालमा करिब ११२ दिन मनसुन सक्रिय रहन्छ। यो भनेको मनसुन भित्रिने सरदर समय जुन १३ हो र बाहिरिने समय भनेको अक्टोबर २ हो। नेपालमा सन् १९७९ मा सबैभन्दा छोटो समय अर्थात् ७३ दिनमात्रै मनसुन रहेको थियो। त्यो वर्ष जुन २४मा भित्रिएको मनसुन सेप्टेम्बर ४ मै मनसुन नेपालबाट बाहिरिएको थियो। त्यस्तै सबैभन्दा लामो समय सन् २००८ मा थियो। त्यो बेला जुन १० मा भित्रिएको मनसुन लगभग १३० दिन रहेर अर्थात् अक्टोबर १० मामात्रै बाहिरिएको थियो।
यो वर्ष पनि अक्टोबर २ अर्थात् असोज १६ गते मनसुन बाहिरिने समयरेखाको आंकलन हो। त्यसकै भोलिपल्ट अर्थात् असोज १७ देखि नेपालमा सबैभन्दा ठूलो भनिएको पर्व दशैं सुरु हुन्छ। अर्थात् असोज १७ गते घटस्थापनाको दिन हो।
तर मनसुन यसपालि अलिधेरै बरालिने भएको छ। यो वर्ष जुन १० मै मनसुनी रेखाहरूले नेपालको भूभाग छोइसकेका थिए। कोसी प्रदेशसको सुदूरपूर्वी भूभागहरूमा जुन १० मै छिटाउन थालेको मनसुन करिब एक साताजति पूर्वतिर अलमलियो र त्यसपछिमात्रै देशैभरि सक्रिय भएको थियो। अहिले बाहिरिने समय आइसक्दा पनि मनसुनका प्रणालीहरू अहिले यहाँ अलमलिइरहेका छन्।
जल तथा मौसम विज्ञान विभागका अनुसार यसपालि मनसुन असोज १८ गतेपछिमात्रै बाहिरिन थाल्नेछ। नेपालमा मनसुनका रेखाहरू यसको मध्यसमयतिर सक्रिय हुन्छन्। यो मनसुनी अधविभर नेपालमा वर्षभरिको लगभग ८० प्रतिशत वर्षा भइसक्छ। २०७९ सालमा पनि मनसुन करिब २ साताजति अलमलिएको थियो र दसैंभरि वर्षा भएको थियो। दसैंको टीकाको दिनमा पनि त्यो वर्ष पानी परेको थियो। यसपालि असोज १८ देखि मनसुनका रेखाहरू बाहिरतिर जान सुरु गर्नेछन् तर चाँडै नै ओभानु भने हुने छैन।
मनुसुन सुरु हुनुभन्दा अघि नै जल तथा मौसम विज्ञान विभागले यसपालि मनसुनमा सरदर धेरै वर्षा हुने र आपतविपदबाट क्षति पनि बढ्नसक्ने आँकलन गरेको थियो। नेपालमा मनसुन अवधिभर सरदर १ हजार ४ सय ७९ दशमलव ७ मिलिमिटर वर्षा हुन्छ। तर मनसुन बाहिरिनुअघि नै अर्थात् असोज ९ गतेसम्म लगभग १ हजार ५ सय ३७ दशमलव ३ मिलिमिटर वर्षा भइसकेको छ। यो भनेको मनसुनको सरदर वर्षाभन्दा धेरै अर्थात् लगभग १०३.९ प्रतिशत पुगिसकेको छ।
अहिले भूमध्यरेखाको पूर्वी अथवा मध्यप्रशान्त महासागरमा सरदरभन्दा कम तापक्रम छ। यस्तोलाई मौसम प्रणालीको 'ला नीन्या'को अवस्था भनिन्छ। मनसुनी प्रणालीमा त्यसको प्रभावले घनघोर वर्षा हुन्छ वा त्यसको समयरेखाभन्दा पछिसम्म पनि वर्षा भइरहन्छ। यसपालि पनि त्यस्तै भएको छ।
मौसमविदहरूका अनुसार अहिले बङ्गालको खाडीमा नयाँ न्यूनचापीय प्रणालीहरू विकास भइरहेको छ। मनसुन सकिने बेलामा यस्तो प्रणालीको विकास हुनु भनेको यसको प्रक्रिया केही दिन लम्बिनु हो।
विभागका अनुसार बिहीबारदेखि आइतबारसम्म देशका विभिन्न ठाउँमा हल्कादेखि भारी वर्षासम्म हुनसक्ने भन्दै चेतावनी जारी गरेको छ। सामान्यतया चौविसघण्टामा १० मिलिमिटरभन्दा कम वर्षालाई हल्का वर्षा मानिन्छ। त्यस्तै १० देखि ५० मिलिमिटरसम्मलाई मध्यम वर्षा, ५० देखि १०० मिलिमिटरसम्म सामान्य, १०० देखि २०० मिलिमिटरसम्म धेरै भारी र २०० मिलिमिटर वा योभन्दा माथि मापन हुने वर्षाको मात्रालाई अतिभारी वर्षा भनेर वर्षाका किसिम छुट्याइन्छ।
अबका लगभग चार दिन अर्थात् आइतबारसम्म हुने वर्षाबाट क्षतिको आँकलन गरेर विभागले ५६ जिल्लालाई रेड अलर्टमा राखेको छ। यी जिल्लाहरूमा बाढी, पहिरा, चट्याङ तथा हावाहुरीले मानवीय तथा भौतिक लगायत अन्नबालीमा पनि क्षति पुग्नसक्ने भन्दै सावधानी अपनाउन सरकारले आग्रह गरेको छ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले शुक्रबार र शनिबार राति ५६ जिल्लामा रात्रीबस चलाउन रोक लगाएको छ।
विपद्का घटना बढ्न सक्ने भन्दै मनसुन पूर्वतयारी तथा प्रतिकार्य कमाण्ड पोष्टले रातको समयमा असोज ११ र १२ गते रात्रीकालीन बस चलाउन नदिने निर्णय गरेको हो।
आज बिहीबारदेखि आइतबारसम्म चार दिन भारी वर्षा एवं अति भारी मनसुनी वर्षा हुने मौसम विभागले जनाएको छ।
प्राधिकरणले धान नकाट्ने, काटिसकेको भए तत्काल थन्काउने, तराई तथा मधेस क्षेत्रमा भुइँतालमा अन्नपात नराख्ने, पहिरो जोखिम भएका स्थानमा र नदी किनारा बस्तीमा उच्च सतर्कता अपनाउन र दाउरा निकाल्न तथा माछा मार्न नदी किनारामा नजाने सूचना जारी गरेको छ।
विभागको चेतावनीका आधारमा राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले शुक्रबार र शनिबार राति ५६ जिल्लामा रात्रीबस नचलाउन सुझाव दिएको छ।
विपद्का घटना बढ्न सक्ने भन्दै मनसुन पूर्वतयारी तथा प्रतिकार्य कमाण्ड पोष्टले रातको समयमा असोज ११ र १२ गते रात्रीकालीन बस नचलाउन भनेको हो।
प्राधिकरणले धान नकाट्ने, काटिसकेको भए तत्काल थन्काउने, तराई तथा मधेस क्षेत्रमा भुइँतालमा अन्नपात नराख्ने, पहिरो जोखिम भएका स्थानमा र नदी किनारा बस्तीमा उच्च सतर्कता अपनाउन र दाउरा निकाल्न तथा माछा मार्न नदी किनारामा नजान पनि सुझाएको छ।