विपदका बेला सावधानी र तत्परता नदेखाएको भन्दै धादिङ र काभ्रेका प्रमुख जिल्ला अधिकारीहरूलाई जिम्मेवारीबाट हटाइएको छ। उनीहरूलाई तत्कालका लागि गृहमन्त्रालयमा हाजिर हुन भनिएकाे छ।
मन्त्रालयले धादिङमा सहसचिव सुमन घिमिरे र काभ्रेमा उमेश ढकाललाई नयाँ प्रमुख जिल्लाअधिकारीकाे जिम्मेवारीमा खटाएकाे छ।
उनीहरूले आजै सम्बन्धित जिल्लामा जिम्मेवारी सम्हाल्नेछन्। यसअघि धादिङमा राजेन्द्रदेव पाण्डे र काभ्रेमा सूर्यप्रसाद सेढाईं प्रमुख जिल्लाअधिकारी थिए।
बिहीबार नै विपद न्यूनिकरण तथा व्यवस्थापन प्राधिकरणले भीषण वर्षाका कारण जोखिम हुने भन्दै रात्री बस नचलाउन सचेत गराएकाे थियाे। मुख्य राजमार्ग भएर काठमाडौं आउने सवारीहरूलाई पनि रोक लगाइएकाे थियो।
तर अविरल वर्षाका कारण झ्याप्लेखाेलामा ३ वटा गाडी पुरिए। त्यहाँबाट कम्तीमा ३५ जनाकाे शव निकालिएकाे छ। अरु यात्रु हराइरहेका छन्। त्यस्तै काभ्रेमा पनि बाढीपहिराले ठूलै क्षति पुर्याएकाे छ। रोशी, तेमाल, पनौती, बेथानचोकलगायत धेरै स्थानीय तहहरूमा क्षति पुगेकाे छ। याे जिल्लामा मात्रै कम्तीमा ६६ जनाभन्दा बढी मानिसकाे मृत्यु भएकाे छ।
गृहमन्त्रालयका अनुसार देशभरि बाढी, पहिराे तथा डुबानमा परेर मृत्यु हुनेकाे संख्या १९२ जना पुगेकाे छ। सबै क्षेत्रबाट क्षतिकाे विवरण अझै आइनसकेका कारण याे संख्या बढ्नसक्ने अनुमान छ। मन्त्रालयका अनुसार देशभरि अझै ४१ जना मानिस बेपत्ता छन्। उनीहरूकाे खाेजी भइरहेकाे पनि मन्त्रालयले जनाएकाे छ।