गृहमन्त्री रमेश लेखकले कांग्रेस संसदीय दलको बैठकमा बाढी–पहिरोबाट भएको मानवीय र भौतिक क्षतिको तथा सरकारका कामकारबाहीबारे पार्टीक सांसदहरूलाई ब्रिफिङ गरेका छन्।
मंगलबार बसेको बैठकमा गृहमन्त्री लेखकले उद्धार, राहत र घाइतेको उपचारबारे जानकारी गराएका हुन्। उनका अनुसार सरकारले सात सयभन्दा बढी मानिसको हेलिकप्टरबाट उद्धार गरिको छ।
सरकारले तत्काल अस्थायी आवास निर्माण गर्ने र आगामी दिनमा स्थानीय आवास बनाउने व्यवस्था मिलाइएको बताए। क्षतिग्रस्त संरचनाको मर्मत गरि संचालनका लागि सरकारले काम अगाडि बढाएको गृहमन्त्री लेखकले बताए।
गृहमन्त्री लेखकले गृह मन्त्रालयको सहसचिवको नेतृत्वमा सोमबार आठवटा टोली बनाएर क्षतिग्रस्त आठ जिल्लामा पठाइएको बताए। यातायात संचालन गरी मुल्यवृद्धि नियन्त्रणका लागि सरकार सचेत रहेको बताए। नेपाली सेना, प्रहरी, सशस्त्र प्रहरीले सडक संचालनका लागि काम गरिरहेको उनको भनाइ थियो।
गृहमन्त्री लेखकका अनुसार नख्खु खोलामा टिनको छाप्रोमा उद्धार गर्ने विषयमा सशस्त्र प्रहरी र नेपाल प्रहरी पठाइएको थियो।
उनले भनेका छन् ‘सशस्त्र प्रहरीको बोट पल्टिँदा उद्धारमा समस्या भएको हो। त्यतिबेला सेनाले हेलिकप्टर उठाउने भिजिविलिटी नभएको बताएको थियो। एक जना स्थानीयले उद्धार गरेपछि नेपाल प्रहरीकै गाडीमा अस्पताल लगिएको थियो। प्रहरीले सहयोग नगरेको भन्ने होइन। चार हजार भन्दा बढीको सरकारले उद्धार गरेको छ। एउटा घटनालाई लिएर सरकारले केही गरेन भन्नू न्यायोचित हुँदैन। सरकारले गर्नुपर्ने कामहरू गरिरहेको छ। तर केहि पनि गरेन भनेजसरी विरोध भइरहेको छ।’