बङ्गलादेशको एक मन्दिरमा चोरी तथा पूजा मण्डपहरूमा भएका आक्रमणपछि भारतले कडा आपत्ति जनाएको छ। बङ्गलादेशमा लगातार हिन्दु अल्पसंख्यकमाथि आक्रमण भइरहेको भन्दै भारतीय विदेश मन्त्रालयले त्यसलाई निकै दुखद भएको बताएको छ।
यसबीचमा बङ्गलादेशका अन्तरिम सरकार प्रमुख मोहम्मद यूनुसले शनिबार ढाकेश्वरी मन्दिरको भ्रमण गरेका थिए। नवरात्रिका बेला बङ्गलादेशका विभिन्न मन्दिरहरूमा लगाइएका पूजामण्डपमाथि त्यहाँका समूहहरूले आक्रमण गरेका थिए। यो महिनाभरि यस्ता ३५ वटा घटना भएका छन् र कम्तीमा १७ आरोपी गिरफुतार भएका छन्।
यही आक्रमणका बीच बङ्गलादेशको यशोरेश्वरी काली मन्दिरमा चोरी पनि भएको छ। यो बङ्गलादेशमा हिन्दुहरूको सबैभन्दा ठूलो र प्रमुख मन्दिर पनि हो।
सन् २०२१मा बङ्गलादेश भ्रमणका क्रममा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले यही मन्दिरमा एउटा मुकुट भेटीस्वरुप चढाएका थिए।
सुन,चाँदी र पित्तललगायत बहुमूल्य धातुहरू प्रयोग गरेर बनाइएको यो मुकुट चोरी भएपछि भारतले हिन्दु समुदायको संरक्षण गर्न नसकेको भन्दै बङ्गलादेशको कडा आलोचना पनि गरेको छ।
मुकुट चोरी गर्नेहरूको पहिचान भइसकेको छ र सुरक्षा निकायले चाँडै नै ती व्यक्तिलाई पक्राउ गर्ने भन्दै बङ्गलादेशले आश्वासन दिएको छ।
‘यो निकै दुखद घटना हो। मन्दिरमा देवताहरूलाई अपवित्र बनाउने र नोक्सान पुर्याउने कार्यहरू पछिल्ला दिनमा धेरै बढिरहेका छन्’ भारतीय विदेश मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै भनेको छ ‘पर्वका बेलामा सबै हिन्दु समुदायको सुरक्षा र संरक्षणका लागि बङ्गलादेश सरकारसँग अपिल गर्दछ।’
ढाकास्थित भारतीय हाइ कमिसनले पनि मोदीले भेटी चढाएको मुकुट चोरी भएको भन्दै त्यस घटनाबारे सत्यतथ्य छानबिन गर्न र अपराधविरुद्ध कारबाही गर्न भारत सरकारलाई भनेको छ।
केही समयअघि विद्यार्थीहरूको बिराट आन्दोलनका कारण बङ्गलादेशकी प्रधानमन्त्री शेख हसिना देश छोडेर भागेकी थिइन्। उनको परिवारलाई भारतले नै शरण दिएको थियो। त्यसपछि विद्यार्थीको मागअनुसार बङ्गलादेशमा यूनुसले सरकार सम्हालिरहेका छन्। उनी नोबेल पुरस्कार बिजेता पनि हुन्।
त्यो आन्दोलनका बेला पनि हिन्दु समुदायमाथि आक्रमण भएको भन्दै भारतले आपत्ति जनाएको थियो।