सहकारी ठगी प्रकरणमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई जिल्ला अदालत कास्कीमा उपस्थित गराइएको छ।
सहकारी ठगी तथा सङ्गठित अपराधमा शनिबार पक्राउ परेका उनलाई आइतबार अदालतमा उपस्थित गराइएको हो।
शुक्रबार राति काठमाडौँबाट पक्राउ परेका लामिछानेलाई सडकमार्ग हुँदै शनिबार बिहान ३ बजे पोखरा पुर्याइएको थियो। लामिछानेलाई पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा स्वास्थ्य परीक्षण गरी जिल्ला प्रहरी कार्यालय कास्कीमा लगिएको थियो।
पूर्वगृहमन्त्रीसमेत रहेका उनलाई अदालत लैजाँदा बाहिर नेता कार्यकर्ताले चर्को नाराबाजीसहित प्रदर्शन गरेका छन्।
लामिछानेलाई हिरासतमा राखेर अनुसन्धान गर्ने म्याद अनुमतिका लागि न्यायाधीश नवराज दाहालको इजलासमा पेश गराइएको छ।
पोखराको सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्थाको बचत रकम गोर्खा मिडिया प्रालिमा गैरकानुनी रुपमा लगेर दुरुपयोग गरेको आरोप लामिछानेमाथि छ।