प्रधानमन्त्रीपछि राष्ट्रपति लखेट्दैछन् बङ्गलादेशी

Break n Links
Break n Links

प्रधानमन्त्री शेख हसिनालाई देशबाट लखेटेपछि बङ्गलादेशका विद्यार्थी आन्दोलनकारी अब राष्ट्रपतितिर सोझिएका छन्।

सरकारले लागु गरेको आरक्षण प्रणाली खारेज गर्न माग गर्दै विद्यार्थीले थालेको आन्दोलनले विराटरुप लिएपछि प्रधानमन्त्री शेख हसिना देश छोडेर भागेकी थिइन्। अहिले उनलाई भारतले शरण दिइराखेको छ। 

त्यसपछि राष्ट्रपति मोहम्मद सहाबुद्दीनले हसिनालाई समर्थन दिएको र आन्दोलनकारी सहभागी सरकारलाई असहयोग गर्न थालेको भन्दै उनै आन्दोलनकारीहरूले राष्ट्रपतिको राजीनामा माग गरिरहेका छन्। अघिल्लो साता उर्लिएको एउटा आन्दोलनकारी समूहले राष्ट्रपति भवन कब्जा गर्न खोजेको थियो। उनीहरूलाई बङ्गलादेशको सैनिकले रोक्दारोक्दै पनि केही आन्दोलनकारी भवनतिर अघि बढेका थिए।  

‘छुप्पु’ भनेर चिनिने ७४ वर्षीय शहाबुद्दीन सन् २०२३ मा अपदस्थ पूर्वप्रधानमन्त्री हसिनाको अवामी लिगको बहुमत रहेको संसद्बाट निर्वाचित भएका राष्ट्रपति हुन्। हसिना विरुद्ध नयाँ सरकारले करिब दुई दर्जन बढी मुद्दाहरू लगाएको छ। त्यस्तै उनको पार्टीका विद्यार्थी संगठनलगायत अरु समर्थकहरूलाई पनि राजनीतिक प्रतिबन्ध लगाएको छ। 

हसिनाले देश छोडेपछि बङ्गलादेशमा नोबेल पुरस्कार बिजेता मोहम्मद युनुसको नेतृत्वमा अन्तरिम सरकार बनाइएको छ। दैनिक प्रशासन चलाउन उनको नेतृत्वमा आन्दोलनकारीसमेत मिसाएर मन्त्रीहरू बनाइएको छ। 

‘राष्ट्रपतिलाई हटाउनेबारे कुनै पनि निर्णय राजनीतिक सहमतिका आधारमा हुनेछ’ अन्तरिम सरकारका प्रेस सल्लाहकार शफिकुल आलमले सोमबार पत्रकारहरूसँग भनेका छन्। 
सरकारका प्रवक्ता सैयदा रिजवाना हसनले शहाबुद्दीनलाई हटाउने विषयमा छलफल भइरहेको पनि बताए। 

‘क्रान्तिपछि बनेको सरकारले फासीवादी सरकारले छानेको राष्ट्रपतिलाई कायम राख्ने कि नराख्ने भन्ने विषयमा विचार गर्नुपर्छ’ उनले भने ‘उनलाई हटाउनुपर्ने माग आन्दोलनको भावनासँग मेल नखाने दाबीका आधारमा आएको हो।’ 

हसिनाले देश छोडेपछि राष्ट्रपति सहाबुद्दीनले लगातार उनको समर्थनमा अभिव्यक्ति दिँदै आएका छन्। देशबाट भागेर भारत जाँदा हसिनाले राजीनामा बुझाएको सेनाले बताएको थियो। 
 

प्रकाशित मिति: : 2024-10-29 09:33:00

प्रतिकृया दिनुहोस्