बिचौलिया, कर्मचारी र कार्यालयका हाकिम नै मिलेर सुरु गरिएको भ्रष्टाचार मौलाउँदा कतिसम्म हुन्छ त्यो थाहा पाउन यातायात व्यवस्था कार्यालय वीरगञ्जलाई हेरे पुग्छ।
एक महिना अगाडि कार्यालयमा सरुवा भएर आएका कार्यालय प्रमुख धर्मेन्द्रलाल कर्ण र सूचना अधिकारी शेख नवाजले विचौलियाहरुसँग मिलेर सेवाग्राहीबाट रकम लिने र नियमविपरीतका गतिविधि खुलेआम गर्ने गरेको पाइएको छ। फलत कार्यालय नै हरिबोजोक भएको छ।
केन्द्र सरकारको ठाडो हस्तक्षेपका कारण तीन महिनासम्म बन्द भएको सवारी चालक अनुमति पत्र लाइसेन्सका परीक्षाहरु कात्तिकको दोस्रो हप्ताबाट सुरु भएको थियो। बल्ल बल्ल लाइसेन्स प्रकृया सरु भएको यहाँ कार्यालयका हाकिम र कर्मचारी नै असुली धन्दामा सक्रिय छन्। जसकारण सोझासाझ जनता मर्कामा परेका छन्।
यातायात कार्यालयको ढोकामा नपुग्दै बिचौलियाहरुले अनेकौँ प्रश्नहरु सोधेर हैरान पार्ने गरेको तथा कार्यालय प्रमुख कर्णको नाम लिँदै लिखित परीक्षा फेल भएपनि र ट्र्याल कटाउन नसकेपनि पास गराइदिने भन्दै रकम असुल्ने गरेको सेवाग्राहीहरुको गुनासो छ।
सेवाग्राहीहरुले बताएअनुसार बिचौलियाले कार्यालय प्रमुख कर्णलाई बझाउनुपर्ने भन्दै मोटरसाइकलको ट्र्याल पासका लागि १५ देखि २० हजारसम्म, कारलगायत लाइट सवारीको ट्र्याल पासका लागि २५ देखि ३० हजारसम्म र बसलगायत हेभी सवारी साधनको ट्र्याल पासका लागि ३५ हजारभन्दा माथि रकम असुल्ने गरेका छन्।
२०८१ कात्तिक ९ गते लिखित परीक्षामा उपस्थित सबैलाई ठुलाे रकममा सेटिङ गरेर उत्तीर्ण गराएकाे खुलेकाे छ। सामान्यभन्दा सामान्य प्रश्नमा चिन्हसमेत लगाउन नसक्ने परीक्षार्थीहरुले प्रश्न पेपरमा चिन्ह लगाउने ठाउँ खाली राखिदिने र त्यसमा पनि कर्मचारीहरुले सही उत्तरमा चिन्ह लगाइदिनेसम्म गरेको भेटिएको छ। त्यसमाथि सुरुमा ट्र्याल परीक्षाको नतीजा सुरुमा फेसबुक र वेबसाइटमा राखेर कार्यालयले अहिले भने ती विवरण हटाएको छ।
कार्यालयमा चरम बेथिति भएको सूचनापछि ट्र्याल चलिरहँदा हेटौँडाबाट अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीसमेत पुगेको थियो। अख्तियारको टोली पुगेपछि कार्यालयका कर्मचारी र बिचौलियाबीचको सेटिङमा धक्क पुगेका थियो।
तर, अख्तियारको त्यो टोलीलाई प्रलोभनमा पारेर फिर्ता पठाइएको कार्यालयमा खटिएका एक प्रहरी जवानले सूचना दिए। नाम नखुलाउने सर्तमा ती प्रहरी जवानले भने- दुई दिनसम्म अख्तियारको टोली बसेको थियो तर त्यो टोली पनि गयो। अख्तियारको टोलीलाई कार्यालयका कर्मचारीहरुले मोटो रकम खुवाएर फिर्ता पठाएको ट्र्याल सेन्टरमा खटिएका एक प्रहरी जवानले बताए।
अख्तियारको टोली फर्किएलगत्तै कार्यालयमा बिएल नेपाली सेवाको टोली पुगेको थियो। कार्यालयमा कर्मचारीको सेटिङमा बिचौलिया सक्रिय रहेको सूचनाबारे प्रश्न लिएर जाँदा कार्यालय प्रमुख बोल्न मानेन्। स्वास्थ्य समस्याको कारण देखाउँदै दिउँसो १ बजेदेखि साँझ ७ बजेसम्म कार्यालयमै धर्ना दिँदा पनि कार्यालय प्रमुख कर्णले बोल्न मानेन। उनले सिधैँ तिहारपछि आउनू भनेर फिर्ता पठाएका थिए।
तर, त्यसको भोलिपल्ट अति नै कर गरेपछि कार्यालय प्रमुख कर्णले बोल्न र ट्र्याल सेन्टर अवलोकन गर्न दिने सहमति जनाए। बिएल नेपाली सेवाको टोली ट्र्याल सेन्टरमा पुग्दा कर्मचारीहरु आत्तिएर अनावश्यक प्रश्न गर्ने यो खिच त्यो न खिच जस्ता आदेश निर्देशहरु दिएका थिए। जसबाट स्पष्ट बुझ्न सकिन्थ्यो कि ट्र्याले सेन्टरमा केही हलचल भएको छ।
यद्यपि, अख्तियार र पत्रकारको टोली पुगेपछि कार्यालयले सेटिङअनुसार काम गर्न सकेन। विशेष त दसैँ तिहारजस्ता चाड पर्वको समयमा ठुलो सेटिङमा कर्मचारीहरुले परीक्षा सञ्चालन गर्ने गर्छन्। यसपटक पनि कर्मचारी तहबाट त्यो प्रयास पूर्णरुपमा सफल हुन सकेन। १ हजार ९ सय ८३ जनाले परीक्षा दिएकोमा ३ सय ३२ जना मात्रै उत्तीर्ण भएका छन्।
कार्यालयमा यी सबै गतिविधि भइरहँदा कार्यालय प्रमुख कर्णको सरुवामा नै राजनीति भएको खुलेको छ। विशेषस्रोतका अनुसार सरकार परिवर्तनपछि हालका मधेश प्रदेशका श्रम तथा यातायात मन्त्री काैशल किशाेर रायले यसअघिका कार्यालयका प्रमुखसँग २ करोड रकम माग गरेका थिए। तर, उनले त्यो नमानेपछि उनलाई हटाएर कर्णलाई ल्याएको थियो। कर्ण यहाँ आउनुमा नै ठुलो चलखेल भएको स्रोतका दाबी छ।
भिडियाे: