कैलालीमा एक करोड बढी रूपैयाँको सुनचाँदीसहित ३ जना पक्राउ परेका छन्। भजनी नगरपालिका ५ स्थित कौवाखेडा सीमा क्षेत्रबाट ३ जना पक्राउ परेका हुन्।
पक्राउ पर्नेमा सुर्खेतको चौकुनी गाउँपालिका १० का ३६ वर्षीय महेन्द्रबहादुर शाही, वीरेन्द्रनगर नगरपालिका १ का ३१ वर्षीय हर्कबहादुर बिक र पञ्चपुरी नगरपालिका ११ का ३२ वर्षीय महेश सुनार रहेका छन्।
उनीहरूलाई सशस्त्र प्रहरी बल नेपाल नं. ३४ गण कैलाली मातहत बोर्डर आउट पोष्ट (बिओपी) पगियापसारले शनिबार नियन्त्रणमा लिएको हो।
पक्राउ परेका उनीहरू भारतबाट नेपालतर्फ आउँदै थिए। प्रहरीले उनीहरूबाट ८० लाख ७९ हजार ५ सय ६१ रुपैयाँ बराबरको ६ सय २० ग्राम सुन, १५ लाख २८ हजार ४ सय ६० रुपैयाँ बराबरको ८ किलो ९ सय १४ ग्राम चाँदी, विभिन्न दरका ६ लाख ११ हजार ६ सय २५ भारतीय रुपैयाँका साथै साउदी रियाल, विभिन्न किसिमका चार थान मोबाइल सेट र चाँदीका लेप लगाएका भाडाकुडा पनि बरामद गरेको छ।
ती सामानको श्रोत नखुलेको प्रहरीले बताएको छ। पक्राउ परेकामाथि थप अनुसन्धान भइरहेको छ।