‘सरकारले बीआरआई सम्झौताबारे औपचारिक रुपमा जानकारी गराउनुपर्छ’

जनता समाजवादी पार्टी (जसपा) नेपालका प्रचार विभाग प्रमुख पूर्ण बस्नेतले सरकारले चीनसँग गरेको बीआरआई सम्झौताबारे औपचारिक रुपमा जनतालाई जानकारी गराउनुपर्ने बताएका छन्।

उनले नेपाल पक्षले ग्रान्ट फाइनान्सीङ कोअपरेसन राखेर सहमति गर्न चाहेको र चिनियााँ पक्षले संशोधन गरी एसिस्टेन्ट फाइनान्सीङ मोडालिटी बनाएको तर अन्तमा एड एसिस्टेन्स फाइनान्सीङ राखेर सहमति गरिएको भनिएको बीआरआई सम्झौताबारे जनतालाई यथार्थ जानकारी गराउनुपर्ने बताएका हुन्।

मुलुकहरुबीच आवश्यकताअनुसार विभिन्न विषयमा सन्धिसम्झौता हुन सक्ने भन्दै उनले भने, ‘सन्धि सम्झौता मुलुकको हितलाई मध्यनजर राखेरै गरिएको हुन्छ तर कहिलेकाहीँ सन्धिसम्झौताको परिणाम अपेक्षीत हुँदैन भने कहिलेकाहीँ प्रत्युत्पादकसमेत बन्न जान्छ।’

बस्नेतले भने, ‘नेपालसँग आजसम्म भए गरेका अधिकांश सन्धिसम्झौताप्रति जनताको धारणा सकारात्मक बनेको देखिँदैन। सन्धिसम्झौताकै कारण मुलुक अमूक शक्ति राष्ट्रको पञ्जामा पर्ने, राजनीतिक रुपमा ध्रुवीकरणहरु बन्ने तथा बदलिने, आन्तरिक रुपमा दलहरु विभाजन हुनेसम्मका घटना हुने गरेका छन्। शासकहरुले देश र जनतालाई केन्द्रविन्दुमा राखेर भन्दा आफ्नो सत्तास्वार्थलाई केन्द्रविन्दु राखेर सन्धिसम्झौता र निर्णय गर्ने गरेका कारण विभिन्न घटना, परिघटना, प्रश्न, संशय, शंकाउपशंका उब्जने गरेका छन्।’

सन्धिसम्झौता देशका लागि कति फलदायी र हितकर छ भन्ने कुरा आम नागरिक भएर गरेको अनुभव, अनुभूति, भोगाइ, समीक्षा र विश्लेषणबाट थाहा हुने उनको धारणा छ।

चीनसँग भएको बीआरआई सम्झौता उपयुक्त भए/नभएकोबारे सार्वभौम संसदमा छलफल गरिनुपर्ने र जनताका लागि गरिएका भनिएका सन्धिसम्झौतालाई जनताबाट नै अनुमोदन गर्नुपर्ने कुरामा उनले जोड दिए।  

प्रकाशित मिति: : 2024-12-10 11:07:00

प्रतिकृया दिनुहोस्