नेकपा माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्माले सर्वोच्च अदालतले जनयुद्ध शब्द सरकारी कामकाजमा प्रयोग गर्न रोक लगाउनु लोकतन्त्रको उपहास भएको टिप्पणी गरेका छन्।
बिहीबार सर्वोच्चले सरकारी कामकाजमा ‘जनयुद्ध’ शब्द प्रयोग नगर्न आदेश दिएपछि उपमहासचिव शर्माले शुक्रबार सामाजिक सञ्जालमार्फत यस्ताे टिप्पणी गरेका हुन्।
उनले युगको माग, युवाको दिमाग र प्रविधिको विकाससँगै जनआकाङ्क्षा पूरा गर्न नयाँ स्वरुपमा नयाँ पहिचान बोकेर आउने उल्लेख गरेका छन्।
‘तिमी प्रतिबन्ध भएको सुने, हुनसक्छ तिमीलाई सामाजिक न्यायको प्रवक्ता बुझेर चिसो छिडीमा सडाउन चहान्छन्। धारालाई तिम्रो प्रतिकुल बनाउनमा आफ्नै आत्मबालको कमी भएको महशुस गरेको छु। तर युगको माग, युवाको दिमाग र प्रविधिको विकाससंगै जनआकाङ्क्षा पूरा गर्न नयाँ स्वरुपमा नयाँ पहिचान बोकेर, पुरानो नाल होइन वेभ बनेर फेरि आउने छौ। देशको आवश्यकता पूरा गर्ने लक्ष्य बोकेर बाँकी अभिभारा पूरा गर्ने सङ्कल्प सहित नयाँ पुस्ताको चाहना अनुसार ए आई मा सवार हुनेछौ। प्रतिबन्ध त लोकतन्त्रको उपहास हो। जनयुद्ध तिमी प्रतिबन्धित भएछौ’, उनले लेखेका छन्।