रवि हिरासतमा हुँदा रास्वपाका नेताहरू वैकल्पिक शक्तिसँग भेटघाटमा व्यस्त

Break n Links
Break n Links

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने सहकारी ठगी प्रकरणमा प्रहरी हिरासतमा रहेका बेला पार्टीका नेताहरूले राजनीतिक तथा गैरराजनीतिक क्षेत्रका विभिन्न व्यक्तिहरूसँगकाे भेटघाटलाई तीव्रता दिएका छन्।

प्रतिसाेध साँधेर सभापति लामिछानेलाई फसाएकाे दाबी गर्दै आएको रास्वपाले पछिल्लाे समय विशेषगरी सत्ताभन्दा बाहिर रहेका दलका नेताहरू, पूर्वप्रशासक, स्वतन्त्र व्यक्ति तथा वैकल्पिक राजनीतिक शक्तिहरूसँग भेटवार्ता गरिरहेकाे छ।

मंगलबार मात्रै पूर्वप्रधानमन्त्री एवम् नेपाल समाजवादी पार्टी (नयाँ शक्ति)का संयोजक बाबुराम भट्टराईसँग रास्वपाकी केन्द्रीय सदस्य तथा सांसद साेविता गाैतमले भेटवार्ता गरिन्।

वैकल्पिक राजनीतिको पक्षमा वकालत गर्दै आएका भट्टराईसँग सांसद गाैतम र उनका पति गृहेन्द्र घिमिरेले भट्टराईकै निवास पुगेर भेट गरेका थिए।

भेटमा देशको अर्थ-राजनीतिक अवस्था, वैकल्पिक राजनीतिको औचित्यलगायतका विषयमा छलफल भएकाे बताइएकाे छ।

यसै सिलसिलामा केही दिनअघि रास्वपाका नेताहरूले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का वरिष्ठ उपाध्यक्ष रविन्द्र मिश्रसँग पनि भेटवार्ता गरेका थिए।

यस्तै काठमाडौँ महानगरपालिकाका प्रमुख बाेलन साहसँग पटक–पटक भेट्नकाे लागि समय माग्दा बालेनले भने अस्वीकार गरेकाे बुझिएकाे छ।

रवि लामिछाने पक्राउ परेयता रास्वपाका नेताहरूले प्रधानमन्त्री केपी शर्मा ओली तथा सत्तारुढ दलका नेताहरूसँग पनि भेटवार्ता गरेकाे थियाे।

रवि हिरासतमा रहेकाे बेला भएकाे रास्वपाका नेताहरूकाे भेटलाई अर्थपूर्ण रूपमा हेरिएकाे छ।

गोर्खा मिडियाका तत्कालीन प्रबन्ध निर्देशकसमेत रहेका लामिछानेलाई सहकारीको रकम अपचलन र संगठित अपराधमा गत कात्तिक २ गते पक्राउ गरिएकाे थियाे।

पोखराको सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्थाको रकम हिनामिना प्रकरणमा उनी हाल कास्की प्रहरीकाे हिरासतमा छन्।

उनीविरुद्ध सङ्गठित अपराध, सहकारी ठगी र सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरमा अभियोग पत्र दर्ता भइ बयान सकिएर अहिले कास्की अदालतमा थुनछेक बहस भइरहेकाे छ।

प्रकाशित मिति: : 2025-01-01 13:16:00

प्रतिकृया दिनुहोस्