भ्रमको खेतीमा सरकारले पीएचडी पाउँछः बालेन, ‘भिख’ले देश चल्दैन (भिडियाे समाचार)

काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले भ्रमको खेतीमा पीएचडी पाउन मिल्ने भए वर्तमान केपी ओली सरकारलाई दिए हुने टिप्पणी गरेका छन्। 

केही दिनअघि सरकारले प्रमुख कार्यकारी अधिकृत नपठाएकोमा आक्रोश पोखेका शाहले ओली सरकारले छरेको भ्रमबारे ६ बुँदामा प्रष्ट पारेका हुन्। 

सोमबार सामाजिक सञ्जाल फेसबुकमा उनले प्रधानमन्त्री ओलीलाई सम्बोधन गर्दै आफू सरकारको दुस्मन नभइ साझेदार भएको उल्लेख गरेका छन्। 

000

सर्वोच्च अदालतले नक्कली भुटानी शरणार्थी प्रकरणमा थुनामा रहेका बेचन झाको मुद्दामा मिसिल झिकाउने आदेश गरेको छ।

सोमबार तिलप्रसाद श्रेष्ठ र महेश शर्मा पौडेलको इजलासले मिसिल झिकाउने आदेश दिएको हो।

गएको असार ५ गते नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्न आरोपमा झा कञ्चनपुरबाट पक्राउ परेका थिए।

जिल्ला अदालत काठमाडौंले ठगी, लिखत किर्ते, राज्यविरुद्ध र संगठित अपराध सम्बन्धी कसुर अभियोगमा झालाई पुर्पक्षका लागि थुनामा पठाएको थियो।

000

सुदूरपश्चिम प्रदेश सभाका सभामुख भीम भण्डारीका पर्सनल सेक्युरेटी अफिसर (पीएसओ)को सवारी दुर्घटनामा मृत्यु भएको छ।

पीएसओ तथा नेपाल प्रहरीका स्ई योगेन्द्रबहादुर बोहोराको सामेबार सवारी दुर्घटनामा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीका डीएसपी तथा प्रवक्ता कविन्द्र बोहोराले बताए।

उनका अनुसार सई योगेन्द्र अत्तरियाबाट धनगढीतर्फ जाँदै थिए। सोही क्रममा उनले चलाएको स्कुटर बिजुलीको पोलमा ठोक्किएको थियो। दुर्घटनामा परेका उनको सेती प्रादेशिक अस्पताल उपचारको क्रममा मृत्यु भएको हो।

000

गृह मन्त्रालयले आगामी ५ चैतमा हुने स्ववियु चुनावको लागि सुरक्षा व्यवस्था मिलाउन सुरक्षा निकायलाई निर्देशन दिएको छ।

त्रिभुवन विश्वविद्यालय, विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयले स्ववियु चुनावको लागि सुरक्षा प्रवन्ध गर्न माग गरेपछि गृहले सुरक्षा निकायलाई निर्देशन दिएको हो।

नेपाल प्रहरीको प्रधान कार्यालय र सबै जिल्ला प्रशासन कार्यालयलाई स्ववियु चुनाव हुने क्याम्पसमा मतगणनाको कार्य पुरा नहुन्जेलसम्म सम्पूर्ण क्याम्पसहरूमा शान्ति सुरक्षाको व्यवस्था गर्न गृह मन्त्रालयले भनेको हो।

सोमबारदेखि निर्वाचन कार्यक्रम सुरु भएको छ। जसअन्तर्गत क्याम्पस-क्याम्पसमा स्ववियु निर्वाचनको लागि संगठन दर्ता भइरहेको छ।

000

नेकपा कम्युनिस्ट पार्टी (नेकपा) का महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले ‘भिख’मागेर देश समृद्धि नहुने बताएका छन्।

वीरेन्द्रनगरमा आयोजित पत्रकार सम्मेलनमा बाेल्दै उनले अन्य देशसँग सहयोगको नाममा भिख मागेर देश समृद्धि नहुने बताएका हुन्।

गफ चुट्ने नेताबाट रूपान्तर सम्भव नभएको भन्दै उनले कृषि क्रान्तिलाई मुख्य एजेन्डा बनाउने योजना रहेको खुलासा गरेका थिए।

000

नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं प्रचार विभाग प्रमुख मीन विश्वकर्माले माओवादीकै कारण अहिलेको सरकार बनेको दाबी गरेका छन्।

सोमबार रिपोर्टर्स क्वल नेपाल लुम्बिनी प्रदेश कार्यालय बुटवलले आयोजना गरेको साक्षात्कार कार्यक्रममा बोल्दै उनले कांग्रेसले नचाहँदा–नचाहँदै अहिलेको सरकार बनेको बताएका हुन्।

प्रचण्डले जादुमय नम्बरको हतियार देखाउन थालेपछि एमाले आत्तिएको र सरकारबाट बाहिरिनुपरेपछि कांग्रेसले पनि विकल्प खोजिरहेको अवस्थामा अहिलेको सरकार बनेको उनकाे दाबी थियाे।

000

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आगामी निर्वाचनमा पार्टीले बहुमत नपाउने स्वीकार गरेका छन्।

भैरहवामा सोमबारबाट सुरु भएको देशभरका कांग्रेस क्षेत्रीय सभापतिको प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै उनले अहिलेकै अवस्थामा पार्टीले बहुमत ल्याउन नसक्ने हुँदा सबैभन्दा ठूलो पार्टी बनाउन तयारी गर्नुपर्ने बताएका हुन्।

पार्टीले बहुमत ल्याउन नसकेपनि कांग्रेसलाई सबैभन्दा ठूलो पार्टी बनाउनुपर्ने उनकाे भनाइ थियाे।

000

नेपाली राष्ट्रिय पुरुष फुटबल टोलीका नवनियुक्त प्रशिक्षक म्याट रोसले आफ्नो मुख्य लक्ष्य नेपाललाई साफको च्याम्पियन बनाउनु रहेको बताएका छन्।

सोमबार पहिलोपटक नेपाली मिडियासँग अन्तरक्रिया गरेका रोसले आफ्नो मुख्य लक्ष्य नेपाललाई साफको च्याम्पियन बनाउनु र आगामी एसिया कप छनोट गराउनु भएको बताएका हुन्।

नेपालमा फुटबलको माहोलबारे प्रशंसा गर्दै उनले नेपाली समर्थकलाई खुसी पार्ने योजना भएकाे बताएका थिए।

नेपालले अहिलेसम्म साफ च्याम्पिनसिपकाे उपाधि जित्न सकेकाे छैन।

000

पाँचवटा ओस्कर अवार्ड जित्दै रोमान्टिक कमेडी चलचित्र ‘अनोरा’ सन्तानब्बे औं ओस्करमा सर्वोत्कृष्ट फिल्म घोषित भएको छ। 

यो चलचित्रले अस्करमा बेस्ट पिक्चर, बेस्ट डिरेक्टर, उत्कृष्ट अभिनेत्री, ओरिजिनल स्क्रिन प्ले र बेस्ट फिल्म सम्पादन अर्वाड जितकाे छ।

नेपाली समयानुसार सोमबार बिहान अमेरिकाको लस–एन्जलसस्थित डल्बी थिएटरमा यसवर्षको अस्कर अवार्ड प्रदान गरिएको थियाे।

सिन बेकरद्वारा लिखित, निर्देशित र सम्पादित चलचित्र ‘अनोरा’ले न्युयोर्कको ब्रुकलिनकी एक यौनकर्मी एनोरा मिखेवा र रुसी धनाढ्यका छोरा भान्या जाखारोभबीचको विवाहको कथा प्रस्तुत गरेकाे छ।

प्रकाशित मिति: : 2025-03-03 20:20:00

प्रतिकृया दिनुहोस्