कृष्ण सेन ‘इच्छुक’/लछुमन पत्रकारिता पुरस्कारबाट मिनराज रोका पुरस्कृत

पत्रकार मिनराज रोका पुरस्कृत भएका छन्।

नेपाल पत्रकार महासंघ रोल्पाबाट वितरण हुने गरी स्थापना गरिएको कृष्ण सेन ‘इच्छुक’/लछुमन पत्रकारिता पुरस्कार-२०८२ बाट पुरस्कृत भएका हुन्।

२३ औं कृष्ण सेन इच्छुक स्मृति दिवसको अवसरमा लिबाङमा मंगलबार महासंघद्वारा आयोजित एक कार्यक्रममा रोकालाई नगद पाँच हजारसहित प्रमाणपत्रले सम्मान गरियो।

नेपाल पत्रकार महासंघ रोल्पाकी उपाध्यक्ष हिमाली खड्का संयोजकत्वमा रहेको तीन सदस्यीय पुरस्कार छनौट समितिले रोकालाई छनौट गरेपछि पुरस्कृत गरिएको हो। कान्तिपुर टीभीका रोल्पा संवाददाता रहेका रोकालाई पत्रकारितामा पुर्‍याएको योगदानको कदर गर्दै पुरस्कृत गरिएको जनाइएको छ।

उक्त पुरस्कार नेपाल पत्रकार महासंघ रोल्पाका पुर्व अध्यक्ष मानसिंह विकको परिवारले स्वर्गीय बुवा लछुमनको सम्झनामा स्थापना गरेका हुन्। पत्रकार रोका जनआकांक्षा साप्ताहिक र अनलाई साझामा समेत आवद्ध छन्।

कार्यक्रमका प्रमुख अतिथि रोल्पा नगरपालिकाका नगर प्रमुख सुरेन्द्र थापा (घर्ती)ले माला र खादा लगाएर सम्मान गर्दै पुरस्कार हस्तान्तरण गरेका थिए। स्मृति दिवसमा इच्छुकले पत्रकारिता, सहित्य र राजनीतिमा पुर्‍याएको योगदानको चर्चा गरिएको थियो। तत्कालीन राज्यसत्ताबाट भएको इच्छुक हत्या घटनाको सत्य तथ्य छानबिनको खाँचो रहेको वक्ताहरूले औंल्याएका थिए।

कार्यक्रममा नगर प्रमुख थापा (घर्ती), जिल्ला समन्वय समिति रोल्पाका उपप्रमुख कर्मलाल परियार, पुर्व नगर प्रमुख पुरण क्षेत्री, नेपाल पत्रकार महासंघ रोल्पाका संस्थापक सभापति काशीराम डाँगी, पूर्वअध्यक्ष खेम बुढामगर, निवर्तमान अध्यक्ष नविनलोचन मगर, सल्लाहकार लोकेन्द्र चन्द र साहित्यकार डीबी टुहुरोले मन्तव्य राखेका थिए। पुरस्कार स्थापनाको सन्दर्भबारे पूर्वअध्यक्ष मानसिंह विकले धारणा राखेका थिए।

महासंघकी उपाध्यक्ष हिमाली खड्काको स्वागत मन्तव्य एवम् सचिव तिलक घर्तीको सञ्चालनमा सम्पन्न कार्यक्रमको अध्यक्षता महासंघकी अध्यक्ष खुबिना सुनारी मगरले गरेकी थिइन। सह-आयोजकमा प्रेस सेन्टर रोल्पा रहेको थियो।

प्रकाशित मिति: : 2025-05-27 17:26:00

प्रतिकृया दिनुहोस्