अमेरिकी अर्बपति एलोन मस्कले आफू ट्रम्प प्रशासनबाट अलग भएको घोषणा गरेका छन्। समाजिक सञ्जालमा ट्रम्प प्रशासनबाट अलग भएको जानकारी दिँदै मस्कले ट्रम्पलाई धन्यवाद पनि दिएका छन्।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उनलाई सरकारी फजुल खर्च कटौती गर्ने जिम्मेवारी दिएका थिए। त्यसका लागि ट्रम्प प्रशासनले डिपार्टमेन्ट अफ गभर्नमेन्ट एफिसिएन्सी (डिओजीई) बनाएका थिए। यो विभागको जिम्मेवारीमा रहेर मस्कले अर्बौं रकमको सरकारी रकम कटौती गरे।
यो बीचमा उनले सरकारी कर्मचारीहरूको संख्यामा कटौतीदेखि विभिन्न विभागहरूको खारेजी पनि गरे। त्योभन्दा बाहेक अमेरिकाकै अनुदानमा सञ्चालित विश्वव्यापी सहायता परियोजना युएसएआडीको खारेजी र एमसिसीजस्ता महत्वाकांक्षी सहायता परियोजनाहरूको कटौतीसम्मको निर्णय उनले कार्यान्वयन गराए। ट्रम्पले दोस्रो कार्यकाल सुरु गरेदेखि अहिलेसम्म उनी ट्रम्पलाई एकछिन पनि छोडेनन्। उनका हरेक कदममा साथै रहे। यहाँसम्म कि राष्ट्रपतिको कार्यालयमा समेत उनी आफ्ना छोरा लिएर ट्रम्पसँगै हुन्थे। भ्रमण होस् या कुनै बैठकहरू मस्क र ट्रम्प सँगसँगै रहे।
अब ‘सरकारी कर्मचारीका रुपमा’ आफ्नो समय सकिएको भन्दै उनले ट्रम्प र उनको प्रशासनलाई धन्यवाद दिएका छन्।
‘विशेष सरकारी कर्मचारीका रुपमा मेरा लागि तय भएको समय अब पूरा भएको छ। म राष्ट्रपति डोनाल्ड ट्रम्पलाई धन्यवाद दिन चाहन्छु किनकी उनले मलाई देशको फजुल खर्च कम गर्ने महत्वपूर्ण जिम्मेवारी दिएका थिए’ उनले सामाजिक सञ्जालमा लेखेका छन् ‘डिओजीई एक मिसन हो। समयसँगै यो अझै मजवुत र प्रभावकारी हुँदै जानेछ र सरकार सञ्चालनमा यसको आदत पनि बस्दै जानेछ।’
यसको अर्थ मस्क सरकारबाट अलग भए पनि यो विभाग भने कायम रहनेछ र यसले सरकारका फजुल खर्च नियन्त्रणका रणनीति तथा उपायहरूको खोजी गरिरहनेछ।
दोस्रो कार्यकालका लागि ट्रम्प चुनावी अभियानमा जुटिरहँदा सबैभन्दा अग्रपंत्तिमा मस्क नै देखिएका छन्। एक अर्बपति ब्यापारीका रुपमा ख्याति कमाएका मस्क किन यसरी चुनावी अभियानमा खटिएका छन् भनेर संसारभरि त्यसको चर्चा भएको थियो। तर उनले अमेरिकालाई अमेरिकाजस्तै र शक्तिराष्ट्र बनाइराख्नका लागि ट्रम्प आवश्यक भएको प्रतिक्रिया दिएका थिए।
ट्रम्पलाई चुनाव जिताउनका लागि मस्कले करोडौं अमेरिकी डलर खर्च पनि गरेका थिए। मतदातालाई प्रभावति गर्नका लागि उनले पैसा बाँडेको भन्दै त्यसको विरोध पनि भएको थियो। तर न मस्क रोकिए, न ट्रम्प नै रोकिए। आखिर ट्रम्प फेरि एकपटक विश्वकै शक्तिशाली नेता भएर निस्किए। र ह्वाइट हाउसको यात्रा तय गरे।