प्रतिनिधिसभाको बैठक बिहीबार दिउँसो १ बजेसम्मका लागि स्थगित भएको छ।
भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको राजीनामा माग्दै आएका प्रतिपक्षी दलहरुसँग सहमतिको प्रयास सफल नभएपछि संसद बैठक स्थगित गरिएको हो।
आज बिहान १ बजे बस्ने भनिएको बैठक सहमतिको प्रयासमा सवा तीन बजेसम्मका लागि सारिएको थियो। तर सहमति नजुटेपछि संसद सचिवालयले बैठक स्थगित गरिएको हो।
भिडियो-
000
काभ्रेका अर्जुन लामाको हत्या प्रकरणमा पूर्व सभामुख तथा नेकपा माओवादी केन्द्रका उपाध्यक्ष अग्नि सापकोटा विरुद्धको रिटमा सुनुवाइ सकिएको छ।
प्रधानन्यायाधीश प्रकाशमान सिंहसहित न्यायाधीशहरू सपना प्रधान मल्ल, कुमार रेग्मी, मनोजकुमार शर्मा र कुमार चुडालको संवैधानिक इजलासमा सुनुवाइ सकिएको हो।
सापकोटाको तर्फबाट बुधबार वरिष्ठ अधिवक्ताहरू रमनकुमार श्रेष्ठ, दिनमणि पोखरेल र मुक्तिनारायण प्रधानले बहस गरेका थिए। त्यसअघि निवेदकको तर्फबाट वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी, अधिवक्ता ओमप्रकाश अर्याललगायतले बहस गरेका थिए।
000
गृहमन्त्री रमेश लेखकले संघीयताबाट पछाडि फर्कने विषयले मुलुकलाई अन्धकारतर्फ लैजाने बताएका छन्।
बुधबार राज्य व्यवस्था तथा सुशासन समितिमा भएको नेपाल नागरिकता ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयक, २०८१ माथिको सैद्धान्तिक छलफलमा बोल्दै उनले यस्तो बताएका हुन्।
गणतन्त्र, संघीयता र समावेशिताबाट पछाडि फर्कने विषयले मुलुकलाई फेरि अन्धकार तिर लैजाने बताउँदै केही राजावादी संस्थाहरूले गरिरहेको कुराको पछाडि नलाग्न उनकाे आग्रह थियाे।
000
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का सांसदहरू सभामुख देवराज घिमिरेलाई भेट्न पुगेका छन्।
आफ्ना सांसदहरूको पीएसओ खोसिएपछि उनीहरूले बुधबार सभामुखलाई भेटेर गुनासो पोखेका हुन्।
पार्टीका वरिष्ठ उपाध्यक्ष एवं सांसद बुद्धिमान तामाङ, प्रमुख सचेतक ज्ञानेन्द्र शाहीलगायत सभामुख भेट्न पुगेका थिए।
प्रमुख सचेतक शाही, सांसदहरू ध्रुवबहादुर प्रधान र दीपक सिंहको पीएसओ सरकारले केही दिनअघि फिर्ता गरेको थियो।
000
सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले भिजिट भिसा प्रकरणमा गृहमन्त्रीले राजीनामा दिन आवश्यक नरहेको बताएका छन्।
बुधबार सिंहदरबारमा मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्दै उनले गृहमन्त्रीविरुद्ध ठोस प्रमाण नरहेको र छानबिनको प्रक्रिया समेत अघि नबढेकाले राजीनामा दिन आवश्यक नरहेको बताएका हुन्।
सदनमा गृहमन्त्रीले जवाफ दिन पाउनुपर्ने उनकाे धारणा थियाे।
000
नेकपा माओवादीले पूर्वनिर्धारित मध्यपहाडी लोकमार्ग केन्द्रित जागरण अभियान तत्काललाई स्थगित गरिएको छ।
बर्खाको मौसम लागेकाले तत्काललाई जेठ २१ देखि तय भएको अभियान स्थगित गरिएको हो।
तराईं मधेश जागरण अभियानपछि हौसिएर माओवादीले दोस्रो चरणमा मध्यपहाडी लोकमार्ग केन्द्रित अभियानको थालनी गरेको थियो।
000
सवारी चालक अनुमति पत्र छपाइ कार्य तीन दिन बन्द हुने भएको छ।
प्रिन्टर मर्मत गर्नुपर्ने भएकाले लाइन्सेन्स छपाइ कार्य बन्द हुने यातायात व्यवस्था विभागले बताएको छ।
लाइसेन्स छपाइ कार्य जेठ २७ गतेदेखि २९ गतेसम्म बन्द हुने विभागले जारी गरेको सूचनामा उल्लेख छ।
000
म्यानमारको मेवाडीमा अलपत्र परेका तीन नेपालीलाई उद्धार गरी नेपाल फर्काइएको छ।
थाइल्यान्डको बैंककस्थित नेपाली दूतावासले उनीहरूलाई उद्धार गरेर बुधबार काठमाडौँ पठाइएको जनाएको छ।
नेपाल सरकारले तोकेका मापदण्डबमोजिम श्रम स्वीकृति लिएरमात्र वैदेशिक रोजगारीमा जान दूतावासले अनुरोध पनि गरेको छ।