पूर्वप्रधानमन्त्री एवं नेकपा एसका अध्यक्ष माधवकुमार नेपालको सांसद पद निलम्बन भएको छ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बिहीबार नेपालसहित पतञ्जली जग्गा हिनामिना प्रकरणमा जोडिएका प्रतिवादीहरूविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेसँगै उनको सांसद पद स्वतः निलम्बनमा परेको हो।
योसँगै माधव नेपाल भ्रष्टाचार मुद्दा लाग्ने पहिलो प्रधानमन्त्री बनेका छन्।
२०६६ सालमा माधव नेपाल प्रधानमन्त्री भएको बेला पतञ्जली योगपीठलाई आयुर्वेद अस्पताल तथा जडिबुटी केन्द्रका नाममा दिइएको हदबन्दी छुटको जग्गा विक्री भएको प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपालसहित ९३ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ।
तर नेपालले भने आफू सँधै भ्रष्टाचारको विरुद्धमा उभिएको दाबी गर्दै एक रूपैयाँ पनि नखाएकाे उनकाे प्रष्टीकरण थियाे।
000
नेकपा एकीकृत समाजवादीले पार्टी अध्यक्ष माधवकुमार नेपालमाथि राजनीतिक प्रतिशोध साँधेर आक्रमण भएको आरोप लगाएको छ।
पतञ्जलिको जग्गा सट्टापट्टा प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपालविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेपछि एकीकृत समाजवादीले यस्तो टिप्पणी गरेको हो।
पार्टी उपाध्यक्ष वेदुराम भुसालले बिहीबार सञ्चारकर्मीसँग कुराकानी गर्दै पार्टी अध्यक्ष नेपालमाथि राजनीतिक प्रतिशोध साधेर आक्रमण भएको भन्दै राजनीतिक र कानुनी प्रतिवाद गर्ने बताएका थिए।
000
राप्रपा प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले माओवादीले पूर्वसभामुख अग्नि सापकोटा पक्राउ पर्ने डरले संसद खोल्न लचिलो भएको आरोप लगाएका छन्।
भिजिट भिसा प्रकरणमा मुछिएका गृहमन्त्रीको राजीनामालाई नै बटमलाइन बनाएर विपक्षीसँगै संसदमा अवरोध गर्दै आएको माओवादी बिहीबार अचानक राजीनामाभन्दा छानबिनलाई प्राथमिकता दिने भन्दै लचक देखिएपछि शाहीले यस्तो आरोप लगाएका हुन्।
हत्या प्रकरणमा सापकोटालाई बचाउने र भिजिट भिसा प्रकरणमा गृहमन्त्रीलाई बचाउने विषयमा माओवादी वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ र गृहमन्त्रीबीच भेटघाट भएको उनकाे दाबी थियाे।
000
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले १२ देशका नागरिकलाई अमेरिका यात्रा गर्न प्रतिबन्ध लगाएका छन्।
ह्वाइट हाउसका अनुसार ट्रम्पले यात्रा प्रतिबन्धसँग सम्बन्धित आदेशमा हस्ताक्षर गरेका हुन्।
ती देशमा अफगानिस्तान, म्यानमार, चाड, कंगो गणराज्य, इक्वेटोरियल गिनी, इरिट्रिया, हैटी, इरान, लिबिया, सोमालिया, सुडान र यमन छन्।
यस्तै बुरुन्डी, क्युबा, लाओस, सियरा लियोन, टोगो, तुर्कमेनिस्तान र भेनेजुएलालगायत अन्य सात देशका नागरिकलाई पनि अमेरिका यात्रामा आंशिक रूपमा प्रतिबन्ध लगाइएको छ।
000
नेपाली राष्ट्रिय महिला फुटबल टोलीको मुख्य प्रशिक्षकमा बेल्जियमका प्याट्रिक डे विल्डे नियुक्त भएका छन्।
नवनियुक्त मुख्य प्रशिक्षकलाई अखिल नेपाल फुटबल संघका महासचिव किरण राईले आज एन्फा कम्प्लेक्स सातदोबाटोमा नियुक्तिपत्र हस्तान्तरण गरेका छन्।
विल्डेले यसअघि नेपालमा काम गरिरसकेका छन्। उनी गत फागुनमा भएको तेस्रो संस्करणको नेपाल सुपर लिगमा काठमाडौं रेजर्सका प्रशिक्षक थिए।