भिजिट भिसा : डिपी अर्यालमाथि छानबिन गर्न उजुरी

Break n Links
Break n Links

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का कार्यवाहक सभापति डोलप्रसाद अर्याल (डिपी)माथि छानिबनको माग गर्दै प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा उजुरी दर्ता भएको छ। भिजिट भिसा दुरुपयोग र मानव तस्करी विषयमा छानबिनको माग गर्दै युवराज सफलले उजुरी दर्ता गराएका हुन्। 

सफलले  प्रतिनिधिसभाको गत असार १५ गतेको बैठकमा सांसद अर्यालले आफू सुमिरे टुर्स एण्ड ट्राभल्स प्रा.लिका सञ्चालक रहेको र वर्षौँदेखि जापानमा भिजिट भिसामा नेपाली नागरिक पठाउँदै आएको स्विकारे लगत्तै कार्यवाहक सभापति अर्यालविरुद्ध  उजुरी दर्ता गरेका हुन्। 

कार्यवाहक सभापति अर्यालले सदनमा जवाफ दिँदै बोलेका तथ्यलाई आधार बनाएर सफलले  उनको कम्पनीमार्फत विदेश पठाइएका नागरिकहरूको प्रक्रिया, कागजात र वैधानिकता विषयमा गहिरो छानबिन आवश्यक रहेको तर्क गरेका छन्। 
उनले दर्ता गराएको निवेदनमार्फत भनेका छन्, ‘भिजिट भिसाको नाममा ‘सेटिङ’ गरेर त्रिभुवन विमानस्थल हुँदै नागरिक विदेश पठाइएको प्रमाणहरू सार्वजनिक भइसकेका छन्। यस्तोमा अर्यालको कम्पनीले कागजात पूरा गरेर नागरिक पठाएको स्विकार्न सकिन्न।’ 
उक्त उजुरीमा सांसद डिपी अर्यालसहित कम्पनीका अन्य सञ्चालकलाई कानुनी दायरामा ल्याई दोषी ठहरिए हदसम्मको कारबाही गर्न माग गरिएको छ। प्रधानमन्त्री कार्यालयले भने हालसम्म यस विषयमा कुनै धारणा सार्वजनिक गरेको छैन।
यसअघि नेपाली काँग्रेसका सांसद रामहरि खतिवडाले सुमिरे ट्राभल्सले वर्षौंदेखि भिजिट भिसामा जापान मान्छे पठाउँदै अर्बौं रकम असुल गरेको भन्दै छानबिन गर्न संसदमा माग गरेका थिए। 
त्यसलगत्तै अर्को दिन अर्यालले संसदमै त्यो कम्पनी आफ्नो रहेको भन्दै ‘गरेर खानेहरूले चोरेर खानेहरूलाई जवाफ दिनुनपर्ने’ जवाफ फर्काएका थिए। 
 

प्रकाशित मिति: : 2025-07-01 10:29:00

प्रतिकृया दिनुहोस्