गठबन्धनलाई ०८४ सम्म लैजानुपर्छ– गृहमन्त्री

Break n Links
Break n Links

गृहमन्त्री रमेश लेखकले वर्तमानमा सत्ता गठबन्धनलाई २०८४ सम्म लिएर जानुपर्ने बताएका छन्।

बुधबार डडेल्धुरामा पार्टी कार्यकर्तासँगको भेटघाट कार्यक्रममा गृहमन्त्री लेखकले कांग्रेस र एमालेको गठबन्धन विकल्प नभएको बताएका हुन्।

उनले भने, ‘मैले हिजो पनि पार्टीको केन्द्रीय समिति बैठकमा ८४ सम्म यो गठबन्धनलाई निरन्तरता दिनुपर्छ। सरकार बनेको १ वर्ष हुन थालिसकेको छ। सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलीज्यू हुनुहुन्छ। एक वर्ष पछि हाम्रो पार्टी सभापति आदरणीय नेता शेरबहादुर देउवा प्रधानमन्त्री बन्नुहुन्छ। ८४  को निर्वाचन शेरबहादुर दाइले गर्नुहुन्छ।’

कांग्रेस र एमालेको गठबन्धन मुलुककै आवश्यकता भएको गृहमन्त्री लेखकको भनाइ छ।

यस्तै गृहमन्त्री लेखकले राजनीतिमा षड्यन्त्र हुने गरेको भन्दै पछिल्लो समय आफू पनि राजनीतिक षड्यन्त्रको एम्बुसमा परेको बताए।

‘मान्छेका आ–आफ्नो राजनीतिक उदेश्य छन्। सरकार र समीकरणलाई कसरी कमजोर गर्ने? कांग्रेसलाई कसरी कमजोर गर्ने भन्ने कुरा होला। मेराविरुद्धमा राजनीतिक षड्यन्त्र भएको हो। यो कुरा विस्तारै स्पष्ट हुँदै गएको छ। एउटा कार्यालयका कर्मचारीमाथि छानबिन हुँदा मन्त्रीलाई नै जोड्नुको नियत प्रष्टै छ,’उनले भने। 

साथै सरकार र विपक्षी दलबीचको सहमति अनुसार अध्यागमनमा देखिएको समस्या समाधान गर्न उच्चस्तरीयसमिति बनेको उनको भनाइ छ । यस्तै सुदूरपश्चिमको विकासका लागि सरकार सबै तवरबाट लागि परेको गृहमन्त्री लेखकले बताए ।

प्रकाशित मिति: : 2025-07-02 17:41:00

प्रतिकृया दिनुहोस्