आफू मरेको हल्ला फैलिएपछि मुमताज सार्वजनिक

तस्बिरः एजेन्सी

बलिउडकी पूर्व नायिका मुमताजको निधन भएको खबर एकाएकै बाहिरिएपछि उनको परिवारले खण्डन गरेको छ।

मुमताजको निधन मुम्बईको एउटा निजी अस्पतालमा भएको भन्दै बलिउडका ‘ट्रेड एनालिस्ट’ कोमल नाहटाले आफ्नो ट्वीटर ह्याण्डलबाट भावुक ट्वीट गरेका थिए।

यसपछि विभिन्न प्रतिक्रिया आउन थालेको थियो। खबर एकाएक भाइरल भएपछि मुमताजको परिवारले खण्डन गरेको हो। पछि नाहटाले आफ्नो पुरानो ट्वीट डिलिट गर्दै माफी मागेका छन्।

मुमताजका भतिजाले मिडियासँग कुरा गर्दै भने, ‘उहाँ स्वस्थ्य हुनुहुन्छ। हामीले पत्तो पाउन सकेका छैनौ। यस्तो किसिमको झुटो खबर कसरी फैलिन्छ।’

फिल्म निर्देशक मिलाप जावेरीले पनि ट्वीट गरेर यसको खण्डन गरेका थिए। उनले ट्वीट गरे–‘मुमताज आन्टी जीवित हुनुहुन्छ। हस्टपुष्ट। मैले उहाँसँग कुरा गरे। उहाँले आफ्नो बारेमा नचाहिदो कुरा नगर्न आग्रह गर्नुभयो।’

मुमताजकी कान्छी छोरी तान्या माधवानीले पनि सोशल मिडियामा यसको खण्डन गर्दै आफ्नो आमा स्वस्थ्य रहेको बताइन्। यी सबै शृंखलापछि मुमताज आफै सार्वजनिक भइन्। उनले एउटा प्राइभेट च्यानललाई अन्तर्वार्ता दिने क्रममा भनिन्, ‘मलाई थाहा छैन। यस्तो खबर कसरी फैलियो र किन?’

उनले आफ्नो निधनको बारेमा यो नै पहिलो खबर नभएको पनि बताउन बिर्सिनन्। ‘यतिबेला म परिवारसँग लन्डनमा छु। निकै खुसी। केही समय अगाडि पनि मेरो निधनको खबर फैलिएको थियो। यसले मेरो शुभचिन्तकलाई दुःखी तुल्याएको छ,’मुमताजले भनिन्।

मुमताजलाई सन् २००० मा ब्रेष्ट क्यान्सर भएको थियो। क्यान्सरविरूद्धको लडाईमा उनी सफल भएकी थिइन। अहिले उनको क्यान्सरको पूर्ण निदान भइसकेको छ।

उनी लामो समयदेखि छोरीसँग लन्डनमा बस्दै आइरहेकी छिन्। उनको छोरी नताशाले अर्का भेट्रान अभिनेता फिरोज खानका छोरा फरदीनसँग विवाह गरेकी थिइन र उनी लन्डनमै बसोबास गर्दै आइरहेकी छिन्।

मुमताजकी कान्छी छोरी तान्या रोममा बस्छिन्। मुमताजले संस्कार, लाजवंती, सोने कि चिडिया, गहरा दाग, दो रास्ते, आपकी कसम जस्ता फिल्ममा काम गरेकी छिन्। राजेश खन्नासँगको उनको जोडीलाई अहिले पनि धेरैले याद गर्ने गरेका छन्।

प्रकाशित मिति: : 2019-05-04 23:05:10

प्रतिकृया दिनुहोस्