श्रीलंकाको पहिलो जित, अफगानिस्तानको लगातार दोस्रो हार

तस्बिरः एजेन्सी

अफगानिस्तानलाई हराउँदै श्रीलंकाले आईसीसी एकदिवसीय विश्वकप क्रिकेटमा पहिलो जित निकालेको छ।

इंग्ल्याण्ड र वेल्समा जारी विश्वकप अन्तर्गत मंगलबार भएको खेलमा अफगानिस्तानलाई डीएल पद्दतिको आधारमा ३४ रनले हराउँदै श्रीलंकाले पहिलो जित निकालेको हो ।

इंग्ल्याण्डको कार्डिफमा वर्षाले प्रभावित खेलमा श्रीलंकाले दिएको १८७ रनको लक्ष्य पछ्याएको अफगानिस्तानले ३२.४ ओभरमा अलआउट हुँदै १५२ रनमा समेटियो।

अफगानिस्तानका लागि नाजिबउल्लाह जाड्रनले सर्वाधिक ४३ रन बनाउँदा हजरतउल्लाह जजाईले ३० तथा कप्तान गुल्बादिन नाइबले २३ रन जोडे पनि टोलीलाई जिताउन सकेनन्।

अफगानिस्तानलाई सस्तैमा रोक्न श्रीलंकाका नुवान प्रदीपले ४ विकेट लिए। यस्तै लाथिस मालिंगाले ३ विकेट लिए।

प्रदिपले ९ ओभरमा १ मेडन राख्दै ३१ रन खर्चेर ४ विकेट लिए। यस विश्वकपमा प्रदिपको यो पहिलो खेल हो। त्यसलाई सहि सावित गर्दै श्रीलंकालाई जिताउन महत्वपूर्ण भूमिका खेले।

यता मालिंगाले ६.४ ओभरमा ३९ रन खर्चेर ३ विकेट लिए। ३ विकेट लिएपछि मालिंगा विश्वकपमा सर्वाधिक विकेट लिनेमा पाँचौ स्थान उक्लेका छन्। मालिंगाले अहिलेसम्म २४ खेलबाट ४६ विकेट लिएका हुन्। यस्तै समग्रमा भने मालिंगा आफ्नै देशका सनथ जयासूर्यालाई पछि पार्दै दशौँ स्थानमा उक्लेका छन्। मालिंगाले ओडिआईमा ३२५ विकेट पुर्‍याएका छन्।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको श्रीलंकाले ३६ ओभर ५ बलमा अलआउट हुँदै २०१ रन बनाएको थियो। तर, वर्षाको कारण दुई पटक रोकिएपछि ४१ ओभरमा झारिएको खेलमा श्रीलंकाले डीएल पद्दतिको आधारमा अफगानिस्तानलाई १८७ रनको नयाँ लक्ष्य दिएको थियो।

श्रीलंकाका लागि कुशल परेराले ७८ रनको अर्धशतकीय इनिङ्स खेले। यस्तै कप्तान दिमुथ करुणारत्नेले ३० तथा लाहिरु थिरिमानेले २५ रन जोडेका थिए।

अफगानिस्तानका मोहमद नाबीले ४ विकेट लिँदा डलट जड्रान र राशिद खानले समान २/२ विकेट लिएका थिए।

यो जितसँगै श्रीलंकाले २ खेलबाट २ अंक जोड्दै अंक तालिकाको छैठौं स्थानमा उक्लिएको छ।

यसअघि श्रीलंका पहिलो खेलमा न्युजिल्याण्डसँग १० विकेटले पराजित भएको थियो।

यता लगातार दोस्रो हा व्यहोरेको अफगानिस्तानले पहिलो खेलमा अष्ट्रेलियासँग ७ विकेटले पराजित भएको थियो।

भोलिको पहिलो खेलमा भारत र दक्षिण अफ्रिका भिड्नेछन् भने दोस्रो खेलमा बंगलादेशले न्यूजिल्याण्डको सामना गर्नेछ।

प्रकाशित मिति: : 2019-06-05 00:20:16

प्रतिकृया दिनुहोस्