करोडौं घोटाला प्रकरण बाहिरिएपछि नेवानिद्वारा दुबई होटलसँगको सम्झौता खारेज

निगमका कार्यकारी अध्यक्ष मदन खरेल। तस्बिरः नेपालन्यूज

दुबईमा आफ्ना चालकदल (क्रु मेम्बर) राख्न तारे होटल छनोट गर्दा करोडौं रुपैयाँ घोटाला गरिएको तथ्य सार्वजनिक भएको दुई सातापछि नेपाल वायुसेवा निगमले उक्त होटलसँगको सम्झौता खारेज गरेको छ।

निगम व्यवस्थापनका उच्च अधिकारीहरूले युनाइटेड अरब इमिरेट्स (युएई) को दुबईस्थित चारतारे होटल हिल्टन गार्डेन इनसँग सस्तोमा पाइने कोठालाई मिलेमतोमा तीन गुणाभन्दा बढी रकम तिर्ने गरी दुई वर्षसम्मको सम्झौता गरेका थिए।

निगमका कार्यकारी अध्यक्ष मदन खरेलदेखि तत्कालीन अपरेसन डाइरेक्टर तथा वरिष्ठ क्याप्टेन रविन्द्रकुमार (आरके) शेरचनसम्मको ‘मिलेमतो’ मा नियमविपरीत उक्त होटलसँग ठाडै दुई वर्षे सम्झौता गरेपछि करिब साढे ३ करोड रुपैयाँसम्म घोटाला भएको तथ्य नेपालन्युजले गत असार २१ गते सार्वजनिक गरेको थियो।

त्यसपछि विवादमा तानिएका निगम कार्यकारी अध्यक्ष खरेलले अपरेसन डाइरेक्टर शेरचनलाई पदबाट हटाएका थिए। लामो छलफलपछि आज आइतबार खरेलले दुबईको उक्त होटलसँगको सम्झौता खारेज गरी छुट्टै पाँचतारे होटलसँग सम्झौता गर्न सार्वजनिक प्रस्ताव आह्वानसमेत गरेका छन्।

‘दुबईस्थित चारतारे होटल हिल्टन गार्डेन इनसँगको दुई वर्षे सम्झौता खारेज गरी नयाँ सार्वजनिक प्रस्ताव आह्वान गरिएको छ,’ निगमका एक उच्च अधिकारीले आफ्नो नाम उल्लेख नगर्ने सर्तमा आइतबार नेपालन्युजसँग भने, ‘घोटाला प्रकरण बाहिरिएपछि उहाँ तनावमा हुनुहुन्थ्यो र सम्बद्ध अधिकारीहरूसँग छलफल गरेपछि सम्झौता खारेज गरी नयाँ प्रस्ताव आह्वान गर्न निर्देशन दिनुभयो।’

सम्बद्ध एक अधिकारीका अनुसार दुबईमा क्रु राख्न पाँचतारे होटल नै छनोट गर्नुपर्ने गरी आइतबारै नयाँ सार्वजनिक प्रस्ताव आह्वान गरिएको छ। त्यहाँको चारतारे होटल हिल्टन गार्डेन इनसँग दुई वर्षे सम्झौता भएका कारण अबको दुई महिनासम्म त्यही होटल प्रयोग गर्नुपर्ने हुन्छ।

प्रकाशित मिति: : 2019-07-21 14:22:02

प्रतिकृया दिनुहोस्