आवास शिलान्यास गर्न दुई उपप्रधानमन्त्रीसहित १० मन्त्री बारा/पर्सा जाँदै, १२ स्थानमा शिलान्यास हुने

तस्बिरः बिएल

हावाहुरी र असिना पानीसहित भएको चक्रपातका कारण क्षति भएका बारा र पर्साका विभिन्न ठाउँमा आवास निर्माण गर्न शनिबार १२ स्थानमा एकैसाथ शिलान्यास गरिने भएको छ ।

भिन्नभिन्न स्थानमा हुने सो शिलान्यासमा सहभागी हुन उपप्रधानमन्त्रीद्धयसहित सरकारका १० मन्त्री त्यसतर्फ जानुहुने नेपाली सेनाले जनाएको छ।

उपप्रधानमन्त्रीद्वय ईश्वर पोखरेल र उपेन्द्र यादव तथा गृहमन्त्री रामबहादुर थापा, ऊर्जा तथा  जलस्रोत तथा सिँचाईमन्त्री वर्षमान पुन, भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठ, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डित, महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री थममाया थापा, शहरी विकास मन्त्री मोहम्मद इस्तियाक राई, खानेपानी मन्त्री बीना थापामगर र भूमी व्यवस्थापन, सहकारी र गरीबीमन्त्री पद्माकुमारी अर्याल त्यसतर्फ जानेछन्।

प्रदेश नं २ का प्रदेश प्रमुख रत्नेश्वर कायस्थ र मुख्यमन्त्री लालबाबु राउत पनि शिलान्यास समारोहमा सहभागी हुनेछन्।

नेपाली सेनाले साउनको मध्यसम्ममा सम्पन्न गर्ने गरी बारामा एक हजार ३६२ तथा पर्सामा ९१ वटा घर निर्माण गर्ने कार्यक्रम तय भइसकेको सैनिक प्रवक्ता विज्ञानदेव पाण्डेले जानकारी दिए।

गत चैत १७ गतेको चक्रपातमा २८ जनाको मृत्यु हुनका साथै ठूलो परिमाणमा भौतिक संरचनामा क्षति भएको थियो ।

प्रकाशित मिति: : 2019-05-03 23:29:42

प्रतिकृया दिनुहोस्