कुन पार्टी सरकारमा छ, कुन बाहिर छ प्रहरीले वास्ता गर्नु पर्दैन: प्रधानमन्त्री

फाइल तस्बिर

प्रधानमन्त्री केपी शर्मा ओलीले पद र अनुहार नहेरी अपराधबारे अनुसन्धान गर्न प्रहरीलाई आग्रह गरेका छन् । उनले प्रहरी हरेक घटनाको निष्पक्ष छानबिन गर्न स्वतन्त्र रहेको पनि बताए ।

 

६४औँ प्रहरी दिवसका अवसरमा प्रहरी प्रधान कार्यालयमा आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले अपराध अनुसन्धानमा कसैको दबाव नसुन्न पनि प्रहरीलाई आग्रह गरे । दबावले निष्पक्ष अनुसन्धान प्रभावित हुने भएकाले विधि र प्रक्रिया अनुरूप अघि बढ्नुपर्ने मत प्रधानमन्त्री ओलीको छ ।

‘कुन पार्टी सरकारमा छ, कुन बाहिर छ, प्रहरीले वास्ता गर्नु पर्दैन । कुन पदको, कसले अपराध गर्‍यो, त्यो पनि प्रहरीले मतलब गर्नुहुन्न’, प्रधानमन्त्रीले भने, ‘प्रहरीले अनुहार नहेरी कानूनको पालना गर्न गर्नुपर्छ ।’

अपराधका घटनामा पनि राजनीतिकरण भइरहेकोमा प्रधानमन्त्रीले चिन्ता व्यक्त गरे। यस्तै, राजनीतिकै आडमा अपराध गर्न नहुने पनि प्रधानमन्त्रीले बताए।

यौन दुर्व्यवहार आरोपमा निवर्तमान सभामुख कृष्णबहादुर महरा पक्राउ परे पनि प्रधानमन्त्री ओलीले यसबारे कुनै प्रतिक्रिया दिएका छैनन् । शुक्रबार प्रधानमन्त्रीद्वारा व्यक्त भनाइ त्यसैतर्फ लक्षित रहेको देखाएको छ ।

प्रधानमन्त्री ओलीले सामाजिक सञ्जालका माध्यमबाट सामाजिक संरचना नै बिथोल्ने काम भइरहेको भन्दै चिन्ता व्यक्त गरे। सामाजिक सञ्जाल दुरुपयोगका घटना रोक्ने चुनौती प्रहरीमा पनि थपिँदै गएको उनले बताए। सामाजिक सञ्जाल दुरुपयोगमा तँछाडमछाड भइरहेको पनि उनले बताए।

सामाजिक सञ्जाल आन्तरिक सुव्यवस्था भड्काउने जग बनिरहेको पनि उनेको भनाई छ।

कार्यक्रममा गृहमन्त्री रामबहादुर थापा बादल, प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाललगायतले पनि प्रहरी अनुसन्धान र यसका गतिविधिबारे आफ्नो धारणा राखेका छन् ।

प्रकाशित मिति: : 2019-10-11 11:01:02

प्रतिकृया दिनुहोस्