सिन्धुपाल्चोक बस दुर्घटना : चालकको लापरवाहीले १४ जनाको ज्यान गयो,६० भन्दा बढि घाइते (भिडियाे सहित)

बिएल

सिन्धुपाल्चोकबाट काठमाडौं तर्फ आउँदै गरेको एउटा यात्रुवाहक बस दुर्घटनामा पर्दा कम्तीमा १४ जनाको ज्यान गएको छ।प्रहरीका अनुसार घटनास्थलमै ५, अस्पताल लैजाँदै गर्दा २ र धुलिखेल अस्पतालमा ५ जनाको मृत्यु भएको हो ।

अन्य केही यात्रुको अवस्था पनि गम्भिर रहेकोले मृतकको संख्या बढ्न सक्ने जानकारी प्रहरीले दिएको छ ।मृत्यु हुनेको सङ्ख्या अझै बढ्न सक्ने अनुमान गरिएको छ ।

प्रहरीका अनुसार इन्द्रावती ९ का हिरा श्रेष्ठ, सोही स्थानका विनोद लम्साल, इन्द्रवती १० ऋदेश आचार्य, चालक काभ्रे बनेपाका केदार महाजु, पाँचखालकी संगीता फुर्कोटीको घटनास्थलमै मृत्यु भएको हो।अन्यको भने सनाखद हुन सकेको छैन्।

त्यसैगरी उपचारका लागि अस्पताल लाने क्रममा ठेगाना नखुलेकी समीता श्रेष्ठ, इन्द्रावती ९ की जुनादेवी लम्साल, गणेश तामाङ, सुमित फुर्कटी, मीना मगर र सुवास अधिकारीको मृत्यु भएको हो। 

दुर्घटनामा सख्त घाइते ७० जनाभन्दा बढीको स्थानीय, प्रहरी र सशस्त्र प्रहरीका उद्धारकर्मीहरुले उद्धार गरी विभिन्न अस्पताल पठाएका छन्। नेपाली सेनाको हेलिकप्टरबाट १३ र एक निजी हेलिकप्टरबाट १० जना घाइतेको उद्धार गरी काठमाडौं ल्याइएको छ। थप उपचारका लागि काठमाडौं ल्याइएकाहरुको ट्रमा सेन्टरमा उपचार भइरहेको प्रहरीले जनाएको छ।

धुलिखेल अस्पतालमा ६७ जना घाइतेको उपचार भइरहेको छ। धुलिखेल अस्पतालका चिकित्सक दीपक श्रेष्ठका अनुसार ६ जनाको अवस्था गम्भिर रहेको छ भने ३ जनाको शल्याकृया जारी छ। यस्तैबनेपास्थित शिरमेमोरियल अस्पतालमा १६ जनाको उपचार भइरहेको छ।

 कसरी भयो दुर्घटना?

इन्द्रावती गाउँपालिका १० भोटसिपा हुँदै काठमाडौं गइरहेको हेलम्बु यातायातको बा २ ख २७१५ नम्बरको बस बिहान करिब ९ः३० बजे तिर्खुमोड दुर्घटनामा परेको सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी गोमादेवी चेम्जोङ्गले बताइन्।

उनका अनुसार ४० सिटको बसमा करिब ७० जना यात्रु सवार थिए।

इन्द्रावती गाउँपालिका १० का वडाअध्यक्ष जीवन थापामगरका अनुसार बसमा दसैं मनाएर घर फर्किने र घर पुगेर काममा फर्किने यात्रुको खचाखच थिए। चालकले टायर पन्चर भएको ख्याल नगर्दा घटना भएको हो।

चालकको लापरवाही, क्षमताभन्दा बढी यात्रु बोक्ने प्रवृत्ति र यात्रुको पनि असावधानीजस्ता मानवीय त्रुटि दुर्घटना भएको वडाअध्यक्ष थापामगरले बताए। 

सडक दुर्घटनाका कारण नेपालमा बर्सेनि औसतमा दुई हजारभन्दा बढीको ज्यान जाने गरेको भए पनि यस्ता मानवीय त्रुटि कम गर्ने सम्बन्धित पक्षले खासै ध्यान नदिएको उनको आरोप छ।

प्रकाशित मिति: : 2019-10-11 16:30:38

प्रतिकृया दिनुहोस्