कोहलीको दोहोरो शतकसँगै दक्षिण अफ्रिकाविरुद्ध भारतको विशाल योगफल खडा

तस्बिरः एजेन्सी

बिराट कोहलीको दोहोरो शतकको मद्दतमा दक्षिण अफ्रिकाविरुद्धको दोस्रो टेस्टमा भारतले विशाल योगफल खडा गरेको छ । भारतले पाँच विकेट क्षतिमा ६ सय १ रन बनाउँदा पहिलो इनिङ समाप्त गरेको छ ।

भारतीय कप्तान कोहलीले ३ सय ३६ बल खेल्दै ३३ चौका र दुई छक्कासहित अविजित २ सय ५४ रन बनाएका छन् ।यता रवीन्द्र जडेजाले १ सय ४ बलमा २ छक्का र ८ चौका सहित ९१ रन बनाए । कोहली र जडेजाबीच २ सय २५ रनको साझेदारी भएको थियो ।

यसअघि भारतीय ओपनर मंयक अग्रवालले लगातार दोस्रो टेस्टमा शतक पुरा गरेका छन् । पहिलो टेस्टमा दोहोरो शतक बनाएका उनले दोस्रो टेस्टमा १ सय ९५ बल खल्दै १६ चौका र २ छक्का प्रहार गरेर १ सय ८ रन जोडे ।

यता रोहित शर्माले ३५ बल खेल्दै १४ रन बनाए त्यस्तै चेतेश्वर पुजाराले अर्धशतक पुरा गरे । पुजराले १ सय १२ बल खेल्दै ९ चौका र १ छक्का प्रहार गरेका थिए । सिरिजमा पुजाराको यो दोस्रो अर्धशतक हो ।

दक्षिण अफ्रिका लागि ३ विकेट कागिसो राबाडाले लिएका थिए ।

जवाफी ब्याटिङमा उत्रिएको दक्षिण अफ्रिकाले खराब सुरुवात गरेका छन् । यो समाचार तयार पार्दासम्म साउथ अफ्रिकाले ३ विकेट क्षतिमा ३५ रन मात्र जोडेको छ ।

दक्षिण अफ्रिकाका ओपनरद्वय डिन एल्गर र एडम म्याक्रमलाई भारतीय फास्ट बलर उमेश यादवले पेभिलियन फर्काएका छन् । यसैगरी चौंथो नम्बरमा आएका तेम्बा बभुमा मोहम्मद सामीको शिकार भए ।
यतिबेला क्रिजमा थेउनिस डे ब्रुयन र एनरिच नोत्र्जे छन् । यसअघि पहिलो टेस्टमा पनि भारतले दक्षिण अफ्रिकामाथि सहज जीत हासिल गरेको थियो ।

प्रकाशित मिति: : 2019-10-11 17:51:44

प्रतिकृया दिनुहोस्