यस्तो रह्यो तस्बिरमा चिनीयाँ राष्ट्रपति सी चीन पिङको नेपाल भ्रमणको पहिलो दिन

तस्बिरः रासस

राष्ट्रपति विद्यादेवी भण्डारीको मैत्रीपूर्ण निमन्त्रणामा जनवादी गणतन्त्र चीनका राष्ट्रपति सी चिनफिङ नेपालको राजकीय भ्रमणमा आएका छन्।

नेपालको द्विदिवसीय भ्रमणमा रहेका राष्ट्रपति सीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अतिविशिष्ट कक्षमा राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन र प्रधानमन्त्री केपी शर्मा ओलीले हार्दिकतापूर्वक स्वागत गरे।

उनीहरूलाई चिनियाँ विशिष्ट अतिथिको स्वागतमा पञ्चकन्याले साथ दिएका थिए। त्यसअघि राष्ट्रपति भण्डारीले विमानमा नै पुगेर राष्ट्रपति सीलाई स्वागत गरेकी थिइन्।

उनको स्वागतमा कलाकारले सातै प्रदेशको प्रतिनिधित्व हुने गरी कौरा, थारु नाच, सुर्खेती झ्याउने, साकेला, तराईको झिंझिया, काठमाडौँको नेवारी र कर्णालीको हुड्केली नाच प्रस्तुत गरिएको थियो। उनलाई अतिविशिष्ट कक्षाको मूल ढोकामै पञ्चकन्याले पुष्पहारले स्वागत गरेका थिए ।

चीनका राष्ट्रपति सीको काठमाडौँ आगमनसँगै उनको राजकीय भ्रमण प्रारम्भ भएको छ । विमानस्थलमा राष्ट्रियसभाका अध्यक्ष उपप्रधानमन्त्रीद्वयसहित मन्त्रिपरिषद्का सदस्य, संवैधानिक अङ्गका प्रमुख तथा पदाधिकारी, नेपाल सरकारका विशिष्ट श्रेणीका अधिकृत, चीनका लागि नेपाली राजदूत र नेपालका लागि चिनियाँ राजदूत तथा चिनियाँ दूतावासका उच्चअधिकारीले पनि राष्ट्रपति सीलाई स्वागत गरेका थिए।

सो क्रममा नेपाली सेनाको एक टुकडीले विशिष्ट अतिथि राष्ट्रपति सीको सम्मानमा २१ तोपको सलामी दिएको थियो । तेइस वर्षपछि चिनियाँ राष्ट्रपतिबाट नेपालको राजकीय भ्रमण भएको हो । चिनियाँ राष्ट्रपतिका साथ विदेशमन्त्री वाङ यीलगायत उच्च अधिकारी भ्रमणदलमा सहभागी छन् । राष्ट्रपति सीको यो भ्रमणलाई नेपाल–चीनबीचको सामाजिक, सांस्कृतिक र आर्थिक सम्बन्ध अभिवृद्धिमा दूरगामी प्रभाव पार्ने विश्वास गरिएको छ ।

राष्ट्रपति भण्डारीले आफ्नो मैत्रीपूर्ण निमन्त्रणामा नेपालको राजकीय भ्रमणका लागि आएका चिनियाँ समकक्षी सी चीनपिङलाई शनिबार राष्ट्रपतिको कार्यालय शीतल निवासमा स्वागतपछि आयोजित द्विपक्षीय उच्चस्तरीय वार्तामा आफ्नो चीनको राजकीय भ्रमणका क्रममा भएको दोस्रो ‘क्षेत्र तथा मार्ग मञ्च’ (बिआरआइ) को सफलतापूर्वक समापन भएकामा प्रशंसा गर्दै मञ्चको निर्णयमा हिमालपार अन्तरसीमा बहुआयामिक सम्पर्क सञ्जालको उल्लेख भएको र त्यसबाट रेलमार्ग, सडक, सुरुङजस्ता पूर्वाधार विकास हुने विश्वास व्यक्त गरेकी हुन्।

सो अवसरमा चिनियाँ राष्ट्रपतिले आगन्तुक पुस्तिकामा हस्ताक्षर गरेका थिए। त्यस अवसरमा उपप्रधानमन्त्री तथा रक्षामन्त्री, गृहमन्त्री, परराष्ट्रमन्त्री, महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री, खानेपानी तथा सरसफाइमन्त्री तथा नेपाल र चीन सरकारका उच्चपदस्थ अधिकारीको उपस्थिति थियो।

 चिनियाँ समकक्षी सी चिनफिङको सम्मानमा राष्ट्रपति विद्यादेवी भण्डारीले शनिबार साँझ राजकीय भोज आयोजना गरेकी छन् ।

सोल्टी होटेलमा आयोजित भोजमा नेपाली परिकारलाई प्रमुख ‘रेसिपी’ को रुपमा राखिएको छ ।

भोजमा बारा, मःमः लुक्ला सिमीसँग भटमास साँधेको राखिएको छ। यी परिकारसँग सुपको रुपमा कुरिलो र क्वाटीको सुपलाई समावेश गरिएको छ ।

चिनियाँ राष्ट्रपति सी चिनफिङको सुुरक्षाका लागि काठमाडौँमा शनिबार खटिएका सुरक्षाकर्मी । तस्वीर: चन्द्रकला क्षेत्री

प्रकाशित मिति: : 2019-10-12 23:49:01

प्रतिकृया दिनुहोस्