रामोसको खातामा कीर्तिमानको मेडल, भन्छन्- यसले ठुलो सम्मान दिएको छ

तस्बिरः एजेन्सी

स्पेनका कप्तान सर्जियो रामोस राष्ट्रिय टोलीबाट सर्वाधिक क्याप जित्ने खेलाडी बनेका छन् ।

रियल मड्रिडका ३३ बर्षिया स्टार खेलाडी रामोसले आइबार बिहान युरो कप छनोट २०२० अन्तरगत नर्वेसँग भएको खेलपछि स्पेनिस फुटबल इतिहासमा सर्वाधिक खेल खेल्ने इतिहास रचेका हुन्। तर उक्त खेल १–१ गोलको बराबरी सकिएको थियोे ।

सन् २००५ मार्च २६ मा चीनविरुद्ध खेल्दै स्पेनिस राष्ट्रिय टोलीबाट डेब्यु गरेका उनले स्वर्णिय युगको समयमा विश्वकप र दुई युरो कपको उपाधि उचालेका थिए । उनले स्पेनबाट १ सय ६८ क्याप जिते ।

यसअघि ईकर कासिलासको नाममा सो कीर्तिमान रहेको थियो ।कासियासले १ सय ६७ क्याप जितेका छन्। यस्तै रामोसले लात्भियाका पुर्व मिडफिल्डर भिटालजिस एस्ताफजिभ्सलाई समेत पछि पारे । भिटालजिसले १९९२–२०१० सम्म लात्भियाबाट १ सय६७ क्याप जितेका थिए ।

रामोस अब ईजिप्टका मिडफिल्डर अहमेद हसनको १ सय ८४ खेलको विश्व कीर्तिमानतर्फ अघि बढेका छन् । हसनले सो कीर्तिमान १९९५ देखि २०१२ सम्म खेल्दै तय गरेका थिए ।

कीर्तिमानी क्याप पुरा गरेपछि रामोसले भने, 'सबै ब्यक्तिगत कुराहरु दोस्रो प्राथमिकताको बिषय हो ।'

'म १ सय ६८ क्याप जित्दा खुसी छु । यो पछ्याउने बिषय हैन । तर यसले ठुलो सम्मान दिएको छ । यो धेरै बर्ष गर्व गर्ने बिषय बनेर बस्नेछ ।' रामोसले भने ।

प्रकाशित मिति: : 2019-10-13 16:37:21

प्रतिकृया दिनुहोस्