प्रधानमन्त्री ओलीको अबको विकल्प

प्रधानमन्त्री केपी ओलीको दिनचर्या मंगलबारसम्म सामान्य थियो। उनी सरकारी र पार्टीको कामकाजमा दिनको १६ घन्टाभन्दा धेरै खटिन्थे। बाह्र वर्षअघि मिर्गौला प्रत्यारोपण गरेका ओलीको यस्तो सक्रियता उनका कुनै पनि समकालीन नेताभन्दा बढी थियो।

बुधबारबाट त्यो एकाएक परिवर्तन भएको छ।

मिर्गौलामा गडबडी देखिएपछि उनी एक रात दुई दिन अस्पताल बसे। पछिल्लो २४ घन्टाभित्र दुईपटक उनको 'डायलासिस' गरियो। बिहीबार साँझ सरकारी निवास बालुवाटार फर्किए पनि आगामी दिनहरूमा उनको स्वास्थ्य कस्तो हुनेछ भन्ने चासो र अड्कलबाजी चल्न थालेका छन्।

सरकार र अस्पतालले प्रधानमन्त्रीको स्वास्थ्यसम्बन्धी सूचना लुकाएर अड्कलबाजीको बजारलाई झनै मलजल गरेको छ। प्रधानमन्त्री कार्यालयले बुधबार नियमित जाँचका लागि प्रधानमन्त्री अस्पताल गएको बताएको थियो। ओली दिनभरि अस्पताल बसेर डायलासिस गरिसक्दा पनि बालुवाटारले 'नियमित जाँच’ को रट दोहोर्‍याइरह्यो।

प्रकाशित मिति: : 2019-11-01 06:04:48

प्रतिकृया दिनुहोस्