प्रचण्डले हेलिकप्टर चढेको निर्वाचन आयोग बेखबर

बिएल

निर्वाचन आयोगले नेकपा अध्यक्ष प्रचण्ड हेलिकप्टर चढेर चुनाव प्रचारप्रसारका लागि हिँडेकोबारे आफूहरुलाई कुनै जानकारी नरहेको बताएको छ।

आयोगले बुधबार उपनिर्वाचन तयारीबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले चुनाव प्रचारका लागि हेलिकप्टर प्रयोग गरिनु आचारसंहिता विपरित हुने बताए।

थपलियाले भने, ‘हामीलाई यसबारे औपचारिक रुपमा केही जानकारी आएको छैन। जानकारी आएका जानकारी गर्छौँ।’ यस्तै उनले निर्वाचनसम्बन्धी विभिन्न १५ वटा उजुरी आयोगमा परेको जानकारी गराउँदै यसबारे छानबिन भइरहेको बताए ।

प्रचण्डको गाडी हेलिकप्टरसम्मै

नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पोखरा जानेक्रममा गाडी हेलिप्याडमै लगेका छन्। उनी अल्डिच्यड एयरको हेलिकप्टरमा पोखरा उडेका थिए।

प्रचण्डको गाडी हेलिकप्टरसम्मै गएको विषयमा विमानस्थल प्रमुख देवेन्द्र केसीले भने अनविज्ञता जनाए। हवाइ कम्पनीको गाडीमा जान पाइने भए पनि अरू गाडी लिन नपाइने नियम भएपनि आज बिहानैदेखि मन्त्रालयमा आएकाले सो बारेमा जानकारी नभएको उनको भनाइ छ।

संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले विमानस्थलभित्र अति विशिष्ट व्यक्ति (भिभिआपी)लाई मात्र जहाजसम्म गाडी लिन दिने नियम लागू गरेको २ महिनाभित्रै नेकपाका अध्यक्षले उलंघन गरेका छन्।

मन्त्री भट्टराईको घोषणाअनुसार विमानस्थल कार्यालयले राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, सभामुख, राष्ट्रिय सभाका अध्यक्ष, प्रधानन्यायाधीश र तिनका विदेशी समकक्षीलाईमात्र जहाजसम्म गाडी लिन पाउने भन्दै सार्वजनिक सूचना जारी गरेको थियो।

प्रकाशित मिति: : 2019-11-27 15:49:54

प्रतिकृया दिनुहोस्