नक्कली हस्ताक्षर गरेर माछापुच्छ्रे बैंकबाट १० लाख रुपैयाँ चोरिएको पुष्टि (भिडियोसहित)

फाइल तस्बिर: बिएल

नक्कली हस्ताक्षर र कागजातको प्रयोगबाट काठमाडौंका बैंकमा भएको चोरीमा थप १० लाख रुपैयाँ अभियुक्त समूहको हातमा पुगेको देखिएको छ।

काठमाडौं प्रहरी परिसर, टेकुले प्रकरणमा संलग्न भएको आरोपमा बुधबार ६ जनालाई सार्वजनिक गर्दै १९ लाख ९ हजार रुपैयाँ चोरी भएको सार्वजनिक गरेको थियो । तर, अनुसन्धान अधिकृतलाई साँझ माछापुच्छ्रे बैंकबाट पनि १० लाख रुपैयाँ निकालिएको सूचना प्राप्त भएको हो ।

प्रहरीले आइतबार रातिदेखि चलाएको अपरेशनका क्रममा काभ्रेपालान्चोक पाँचखाल नगरपालीका वडा नम्बर ३ घर भई काठमाडौं महानगरपालीका १३ कालीममाटी बस्ने बर्ष १९ को सुभाष श्रेष्ठ,बर्ष १९का कुमार तामाङ, बर्ष १८ का मनिष घिमिरे, बर्ष २१ बर्र्षीय अन्जन बराल र सिन्धुपाल्चोक ज्यामिरे घर भई काठमाडौं महानगरपालीका ३२ सुविधानगर बस्ने बर्ष २५ को सुमन पौडेल पक्राउ परेका थिए।

आइतबार चोरिएको १९ लाख बढी रकम भने जनता बैंकका खातावाल गोपालमान राजवाहकको भएको काठमाडौं प्रहरीका डीएसपी होविन्द्र बोगटीले बताए।

प्रहरीले पक्राउ परेकाको साथबाट १८ लाख ५० हजार रुपैयाँ बरामद गरेको छ भने विभिन्न व्यक्तिको नागरिकताको प्रतिनिधि २९० पाना बरामद गरेको छ।

त्यस्तै,विभन्न व्यक्तिको फोटो ८ सय २५ वटा, विभिन्न व्यक्तिको नाम र रकम उल्लेख गरिएको रजिष्टर २६ वटा, विभिन्न प्रकारका हस्ताक्षरको नमूना र विभिन्न व्यक्तिको नाम उल्लेख गरिएका डायरी दुई वटा पनि बरामद गरेको छ।

अभियुक्तहरुले बैङ्कमा खाता रहेका विभिन्न व्यक्तिहरुको चेकमा रहेको हस्ताक्षर चोरी सोही व्यक्तिको नाममा चेक हराएको निवेदन दिएर नयाँ चेक बुक निकाल्ने र हस्ताक्षर मिलाइ लाखौँ रुपैयाँ निकाल्न सफल भएको प्रहरीको भनाइ छ।

कयौँ व्यक्तिहरुको नाममा रहेको खाताको सयौँ थान सक्कली चेकसमेत लिन सफल भएको देखिएको साथै सो खातावालहरुको सक्कली भिषा कार्ड समेत बनाइ प्रयोगमा ल्याएको देखिएकोले सम्बन्धित बैङ्कका कर्मचारीहरुको मिलोमतो तथा लापरवाही समेत देखिएको हुँदा यो विषयमा प्रहरीले अनुसन्धान गरिरहेको जानकारी दिएको छ।

यसअघि बैंकिङ प्रणाली नै ह्याक गरेर करिब डेढ करोड रुपैयाँ चोरी गरेको आरोपमा भदौ दोस्रो साता ६ जना चिनियाँ नागरिक पक्राउ परेका थिए।

घटनाको चर्चा सेलाउन नपाउँदै ७ असोजमा लहानमा रहेको कृषि विकास बैंकको शाखाबाट दुई करोड रुपैयाँ चोरी भएको खुलेको थियो।

 

प्रकाशित मिति: : 2019-11-27 17:26:14

प्रतिकृया दिनुहोस्