‘भ्रम छर्लङग भएको छ’

फाइल तस्बिर: बिएल

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले देशलाई समृद्धिको यात्रामा लैजाने भन्दै जनतामा पारिएको भ्रम दुई वर्षमा नै छर्लङ्ग भएको आरोप लगाएका छन्।

कास्की क्षेत्र नं २ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको प्रचारप्रसारअन्तर्गत मंगलबार पोखरा महानगरपालिका वडा नं ३३ भरतपोखरीमा आयोजित चुनावीसभामा उनले सरकारले यस अवधिमा केबल काँग्रेस नेतृत्वमा सम्पन्न भएका योजनाको उद्घाटन गरेको र यसबीचमा महँगी, भ्रष्टाचार, हत्या, हिंसा र आतङ्क मात्रै बढिरहेको बताए।

आफ्नो राजनीतिक गुरु खेमराज पौडेललाई पार्टीले उम्मेदवारका रुपमा अघि सारेको बताउँदै उनले त्याग र निष्ठाका पक्षमा उहाँलाई मतदान गर्न आग्रह गरे।

नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले नेकपा नेतृत्व सरकारका २१ महिनाको समीक्षा गर्दै मतदान गर्न आग्रह गरे। यो निर्वाचनको विजयले कांग्रेस या नेकपा कुनैका लागि पनि तात्विक प्रभाव नपार्ने भए पनि सरकारलाई सच्याउँदै सही बाटोमा हिँडाउनका लागि महत्वपूर्ण अर्थ राख्ने उनको भनाइ थियो।

नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रदीप गिरीले कास्की २ मा हुने निर्वाचनले पार्टीलाई एक ढिक्का बनाएको बताउँदै सरकारका गलत प्रवृत्तिलाई सच्याउनका लागि पनि कांग्रेसका पक्षमा मतदान गर्न मतदातासमक्ष आग्रह गरे।

प्रकाशित मिति: : 2019-11-27 21:56:06

प्रतिकृया दिनुहोस्