ठोरीकाे ठुटे खोला भारतीयकाे कब्जामा (भिडियोसहित)

बिएल

भारतको सिमासँगै जोडिएको पर्साको ठोरी गाउँका स्थानीयवासी बोर्डर पारीका भारतीयको हेपाहा प्रवृत्तिले आजित भएका छन्। सिमा स्तम्भ नहुँदा भारतीयहरुले अहिले नेपालको भूभागमा रहेको ठुटे खोलामा कब्जा जमाएका छन्।

सिमा स्तम्भ नहुदाँसम्म सहन बाध्य भएका ठोरीका नेपाली जनता भन्छन्,'अब प्राण गएपनि आफ्नो खोलाको मुहानमा भारतीयको कब्जा हुन दिदैनौ।'

पर्साको सदरमुकाम वीरगन्ज देखि पश्चिम तर्फ लगभग ६७ किलोमिटरको दुरीमा रहेको छ, दुर्गम गाउँ ठोरी।

भारतको सिमा नाकासँग जोडिएको ठोरी गाउँमा राज्यको नजर नपुगेकाले ओझेलमा परेको छ। जसकारण सो गाउँसँग जेडिएका सिमापारीका भारतीयहरु ठोरी गाउँका नेपाली जनतामाथी आफ्नो मनपरी गर्दै आएका छन्।

ठोरी गाउँपालिका वडा नं‍ ३ का अध्यक्ष सुर्य बहादुर लामाका अनुुसार सदरमुकारम वीरगन्ज लगायत अन्य स्थानसँग जोड्नका लागि ठुटे खोला माथि ३ वर्ष अघि पुल निर्माण भएको थियो। तर नेपालको खोला र पुलमािथ भारतीयको ज्यनदतिले गर्दा सो गाउँका नेपाली जनतालाई भने पुलको बाटो नभई खोला तरेरै एम्बुलेन्स लगायत अन्य चारपाङ्ग्रे सवारी साधन लग्नु पर्ने बाध्यता रहेको छ। वर्षा याममा खोलामा पानीको बहाव बढी भए चारपाङ्ग्रे सवारी साधन गाउँसम्म पुग्न सक्दैनन्।

यता ठुटे खोलामा पुग्दा सिमा पारीका दुईजना भारतीय नागरिक आएर भारतको जग्गा भन्दै कुलो मर्मतमा जुटेका छन्। भारतीय पक्षले जबर्जस्ती पानीको मुहान थुनेर वि‍.स.२०३० साल तिर भारतको जग्गा भन्दै दुईवटा कुलो बनाए। नेपाललाई भने एउटा सानो कुलो बनाउन दिएका छन्। २०६८ सालमा सिमाविद्हरुको टोली आएर नेपालको सिमाको बारेमा ठोरी बासीलाई जानकारी गराए। २०६९ सालमा नेपाल भारतको सिमामा २ वटा नयाँ पिल्लरहरु पनि गाडिए तर भारतीयहरु स्तम्भ गाडिए पनि मान्न तयार छैनन् कि यो नेपालको भूभाग हो।

विगत २५ वर्ष देखि सिचाइको लागि कुलोको मर्मत गर्दै गरेका सिमा परीका भारतीय राम चन्द्र महतो भन्छन्,'ठोरीका नेपालीलाई हाम्रा पुर्वजले सहयोग वापत पानी खान दिएका हुन्।' कुलो छेउको डाडाँसम्म आफ्नो भूभाग बताउँदै सरकारको हेरफेरले गर्दा सिमा स्तम्भ अन्यत्र सारीएको उनको तर्क छ।

कुलोको निर्माणमा आवश्यक परे २ सय जति सिमा पारीको सहोदरा (शुभद्रा) थानाको स्थानीयहरु आउने महतोले बताए। ठोरीका किसानलाई आवश्यकता अनुसार आफूहरुले पानीको मुहान छोडिदिने गरेको उनीसँगै रहेका अर्का एक भारतीय किसान उमेश यादवको भनाई छ।

खेतीको समयमा ठोरीका जनता आफ्नै खोलामा भारतका भर पर्नु परेको दुःखद अवस्था छ। आफ्नै देशको खोलाबाट सिचाईको समयमा पर्‍याप्त पानी नपाउँदा ठोरीका किसानलाई खेतीपाती गर्न समस्या छ। स्थानीय प्रेमबहादुर विक भन्छन्,'भारतको हेपहा प्रवृतिको विरोध गर्दा आफूहरुलाई सिमा पारीको भारतीयहरुले कुटपिट गर्ने हात हथियार हेराएर धम्काउने गर्छन्।' स्थानीय प्रशासन लगायत यसतर्फ नेपाल सरकारलाई बारम्बार जानकारी गराउँदा समेत ध्यान नदिदा उनीहरुको मनोबल झन् बढ्दै गएको विकले गुनासो गरे।

पहिले देखि नेपाली भूभागमा कुलो बनाएर पानि माथि कब्जा गरेका भारतीयहरु अहिले भने पक्कि कल्भर्ट बनाउन चाहेका छन्। तर सम्पूर्ण ठोरी बासी यसको विरोधमा उत्रेका छन्। वडा अध्यक्ष लामाले भने, 'ज्यान दिन तयार छौं। तर पक्कि कल्भर्ट भारतीयलाई बनाउन दिन्नौं।'

७० वर्षीय निवर्तमान वडा अध्यक्ष टिकाराम अधिकारीले विगतको अनुभव सुनाउदै भने,'सिमाको सुरक्षाको लागि आफूहरुले निकै संघर्ष गर्नु पर्‍यो। ठुटे खोलाको कुलोको समस्या नेपाल सरकारले चाडै समाधान गर्नु पर्‍यो। नभए कुलो नै बन्द गरिदिए भारतीयहरुको चलखेल बन्द हुन्छ।' कुलोले गर्दा नै भारतीयहरुले पुल पनि संचालन हुन नदिएको स्थानीयहरुको भनाई छ।

अहिले सिमा विवादको समस्या देशव्यापी रुपमा चर्चाको विषय छ। तर नेपाल सरकारले यसमा गम्भिर भएर नसोच्दा नेपाली जनता भारतको हेपाहा प्रवृति सहन बाध्य छन्। यस्तो बलमिच्याइका कारण दुई देशबीचको सुमधुर सम्बन्धमा आँच आउने भएकाले यसतर्फ भारतीय पक्ष गम्भीर हुनुपर्ने ठोरी बासीको माग छ।

प्रकाशित मिति: : 2019-12-02 11:44:04

प्रतिकृया दिनुहोस्