घरेलु कामदारले अब दूतावासबाटै पुनः श्रम स्विकृति पाउने, के-के चाहिन्छ कागजात?

तस्बिरः नेपाललाइभ

काठमाडौं- खाडीमा कार्यरत नेपाली कामदारहरुले गन्तव्य मुलुकको दूतावासबाटै पुनः श्रम स्विकृति लिन पाउने भएका छन्। शुक्रबारदेखि घरेलु कामदारका रुपमा खाडी जाने नेपाली कामदारहरुलाई सरकारले पुनः श्रम स्विकृति दिन सुरु गरेपछि गन्तव्य मुलुकको दूतावासबाटै पुनः श्रम स्विकृति लिन पाउने व्यवस्था गरिएको हो।

संयुक्त अरब इमिरेट्स(युएई)ले नेपाली कामदारहरुले अबुधाबीस्थित नेपाली दूतावासबाटै पुनः श्रम स्विकृति लिन पाउने भन्दै सूचना जारी गरेको छ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको २०७६ भदौ १७ गतेको मन्त्रीस्तरीय निर्णयअनुसार युएईमा घरेलु कामदारका रुपमा कार्यरत कामदार बिदामा नेपाल आई पुनः सोही काममा फर्कन चाहेमा त्यस्ता नेपाली कामदारहरुलाई पुनः श्रम स्विकृतिका लागि सिफारिस गर्नसक्ने भन्दै दूतावासले सूचना जारी गरेको छ।

के-के कागजात चाहिन्छ?
दूतावासबाटै पुनः श्रम स्विकृति लिनका लागि कामदारले अवधि कायम भएको भिसा, राहदानी र करार सम्झौताको प्रमाण प्रतिलिपि, रोजगारदाताको राहदानीको प्रतिलिपि, घरेलु कामदारका रुपमा श्रम स्विकृति लिई वैदेशिक रोजगारमा आएको निस्सा प्रमाण, बिदामा स्वदेश गई पुनः वैदेशिक रोजगारीमा फर्किंदा साविकै रोजगारदाताकोमा जाने कागजात वा निस्सा आवश्यक पर्ने जनाइएको छ।

नेपालबाट ठूलो संख्यामा नेपाली कामदारहरु घरेलु कामदारका रुपमा खाडीका मुलुकमा जाने गरेका छन्। पुरुष कामदारको तुलनामा घरेलु कामदारका रुपमा जाने महिला कामदारको संख्या बढी छ।

सरकारले घरेलु कामदारका रुपमा खाडी जाने नेपाली कामदारहरु असुरक्षित रहेको भन्दै नेपाली कामदारहरुलाई घरेलुु कामदारका रुपमा खाडीका मुलुक जान रोक लगाएको थियो। २०७३ चैतदेखि नयाँ तथा  पुनः श्रम स्वीकृति लिएर नेपाली कामदारहरु खाडी मुलुक जान पाएका थिएनन्। जसले गर्दा घरेलु कामदारका रुपमा कार्यरत नेपाली कामदारहरु पुनः काममा फर्किन नपाउने भएपछि विदेशमै बसिरहेका थिए।

घरेलु कामदारलाई पुनः काममा फर्कन पाउने अवसर
सरकारले पुनः श्रम स्वीकृति सूचारु गरेसँगै घर फर्कन नपाएका घरेलु कामदारहरु लाभान्वित भएका छन्।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सहसचिव तथा प्रवक्ता डा नारायण रेग्मीका अनुसार पुनः श्रम स्विकृति नपाएका कारण पुनः सोही काममा जान नपाउने भएपछि धेरै घरेलु कामदारहरु नेपाल फर्किएका छैनन्। यसरी खाडी मुलकमा बस्ने नेपाली कामदारहरुको संख्या करिब ३० हजारभन्दा बढी रहेको उनको आँकलन छ।

‘अब उनीहरु लाभान्वित हुने भएका छन्, दूतावासबाटै पुनः श्रम स्विकृृति लिनसक्ने हुँदा उनीहरुलाई थप सहजतासमेत थपिएको छ,’ प्रवक्ता रेग्मीले भने।

यो सरकारी अनुमान मात्रै हो। वैदेशिक रोजगारीका क्षेत्रमा काम गर्दै आएका विभिन्न निजी संस्थाहरुको अध्ययन अनुसार सरकारले वैधानिक बाटोबाट घरेलु कामदारका रुपमा नेपाली कामादारलाई रोक लगाएसँगै अवैधानिक बाटोको रुपमा भारत हुँदै घरेलु कामदारका रुपमा खाडी मुलुक जाने नेपाली कामदारको संख्या बढ्दै गएको छ। जसले गर्दा खाडीमा घरेलु कामदारका रुपमा लाखौँको संख्यामा कामदारहरु कार्यरत रहेको हुनसक्ने अनुमान गरिएको छ।

प्रकाशित मिति: : 2019-09-09 14:48:36

प्रतिकृया दिनुहोस्