‘भीएआर’ पेनाल्टीमा रियलको संघर्षपूर्ण जित

गेट्टी इेज

स्पेनिस ला लिगा अन्तर्गत रियल म्याड्रिडले लेभान्तेलाई २-१ ले हराएको छ। आइतबार भएको खेलमा रियलले दुवै गोल पेनाल्टीबाट गरेको थियो। उक्त पेनाल्टी गोल भिडियो असिस्टेन्ट रेफ्री (भीएआर) को सहयोगमा भएको थियो।

खेलको ४३ औं मिनेटमा लुका मोड्रिचको क्रसलाई एनिस बार्धीले मुख बचाउन खोज्दा हातले लागेपछि पनि पेनाल्टी दिएका थिएनन्। तर, उनले भीएआरको सहायता लिँदै रियललाई पेनाल्टी दिए। करिम बेन्जेमाले उक्त पेनाल्टीमा गोल गर्दै रियललाई सुरूवाती अग्रता दिलाएका थिए।

पहिलो हाफमा १-० ले पछि परेको लेभान्तेका लागि रोजरले खेलको ६० औं मिनेटमा गोल गर्दै खेल बराबरीमा ल्याए।

खेलको ७८ औं मिनेटमा रियलले अर्को पेनाल्टी पायो। चेक डुकुरेले क्यासेमिरोलाई पेनाल्टी क्षेत्रभित्र लडाएको भन्दै रेफ्रीले रियललाई पेनाल्टी दिए। लेभान्तेका खेलाडीहरुले क्यासेमिरोले डाइभ गरेको भने पनि भीएआर टोलीसँग छलफल पछि रेफ्रीले आफ्नो निर्णय कायम राखे। बेलले उक्त पेनाल्टीमा गोल गर्दै रियललाई अग्रता दिलाए।

यता लेभान्तेको दुई पेनाल्टी अवसरलाई भने रेफ्रीले नकार्दै भीएआरको सहयता पनि लिएनन्। ड्यानी कर्भाजलले लुइस मोरालेसलाई गरेको फल र राफेल भारानेको ह्यान्डलाई रेफ्रीले उचित कारवाही गर्न सकेनन्।

रियलका नाचो फर्नान्डेज ८४ औं मिनेटमा दोहोरो पहेंलो कार्ड खाँदै बाहिरिएका थिए। लेभान्तेका रूबेन रोसिना पनि बेन्चमा रहेको अवस्थामा दोस्रो पहेंलो कार्ड खाँदै मैदान छाड्न बाध्य भएका थिए।

यो जितसँगै रियल तेस्रो स्थानमा यथावत नै छ। रियलको २५ खेलमा ४८ अंक भएको छ। शीर्षस्थानको बार्सिलोनाले २५ खेलमा ५७ अंक जोड्दा दोस्रो स्थानको एतलेटिकोले २५ खेलमा ५० अंक जोडेको छ।

प्रकाशित मिति: : 2019-02-25 09:26:05

प्रतिकृया दिनुहोस्