५७ वर्षिय भारतीय पूर्व क्रिकेटर भीबि चन्द्रशेखर चेन्नाईस्थित माइलापुरको आफ्नै घरमा मृत फेला परेका छन्। प्रहरी रिपोर्टका अनुसार उनले आत्महत्या गरेका हुन्।
उनी घरको सिलिङ फ्यानमा झुन्डिएको अवस्थामा बिहिबार राति फेला परेका थिए। ढोका फोडेर भित्र छिर्दा उनी झुण्डीएको अवस्थामा थिए।
त्यसपछि शव परिक्षणको लागि उनको शरीर रोयपेटा अस्पतालमा लागिएको थियो।
पारिवारिक श्रोतका अनुसार चन्द्रशेखर परिवारको अन्य सदस्यसँग चिया खाएपछि आफ्नो रुममा पसेका थिए। त्यसपछि उनी लामो समय बाहिर निस्किएनन् र ढोका भित्रबाट लगाएका थिए। झ्याल खोलेर हेर्दा उनि फ्यानमा झुण्डीएको अवस्थामा थिए।
यसअघि उनको निधन हृदयघातको कारण भएको बताईएको थियो। प्रहरीका अनुसार चन्द्रशेखरले कुनै सुसाइड नोट छोडेका छैनन्।
चन्द्रशेखर तमिलनाडु प्रिमियर लिगको आफ्नो लगानी रहेको टिम भीबि कांची भिरान्स आर्थिक नोक्सानमा गएको कारण डिप्रेसनमा थिए। उनी चेन्नाईमा क्रिकेट प्रशिक्षण केन्द्र पनि चलाउने गर्थे।
एक अनुसन्धान अधिकृतका अनुसार तमिलनाडु प्रिमियर लिगमा ३ करोड लगानी गरेपछि उनमा ठूलो ऋणको भार थियो। उनले आफ्नो घर पनि गिरवी राखेका थिए। बैंकले उनलाई निरन्तर दवाव दिईरहेपछि उनी डिप्रेसनमा गएका थिए।
चद्रशेखरको भारतीय क्रिकेटर राहुल द्रविडसँग निकै राम्रो सम्बन्ध थियो। राहुलको छोरा चन्द्रशेखरको प्रशिक्षण केन्द्रमा गइरहने गर्थे।
भारतको लागि सन् १९८८ मा एकदिवसीय क्रिकेटमा डेब्यू गरेका विकेटकिपर ब्याट्सम्यान चन्द्रशेखरले ७ खेलमा ८८ रन बनाएका थिए जुन क्रममा एउटा अर्धशतक प्रहार गरे। १९९० मा अस्ट्रेलियासँग खेलेको एकदिवसीयनै उनको करियरको अन्तिम खेल थियो। प्रथम श्रेणी क्रिकेटमा भने तमिलनाडुका चन्द्रशेखरले ८१ खेलमा ४३ को औसतले १० शतक प्रहार गर्दै ४ हजार ९ सय ९९ रन बनाएका थिए।