यु १९ एसिया कपमा नेपालको सानदार जित, युएई १६० रनले पराजित

तस्बिरः एसिसि

श्रीलंकामा जारी एसीसी यू–१९ एसिया कप क्रिकेट अन्तर्गत समूह चरणको अन्तिम खेलमा नेपालले युएईमाथि सानदार जित निकालेको छ।

एफटिजेट स्पोर्ट्स कम्प्लेक्समा नेपालले युएईलाई १६० रनको फराकिलो अन्तरमा हराउँदै प्रतियोगितामा सान्तवना जित निकालेको हो।

नेपालले दिएको २८६ रनको फराकिलो लक्ष्य पछ्याएको युएई नेपालको कसिलो बलिङसामू टिक्न सकेन। उसले ३४.४ ओभरमा अल आउट हुँदै १२५ रन मात्र बनाउन सक्यो।

युएईका लागि भ्रितय अर्भिन्दले सर्वाधिक २८ रनको योगदान दिए। आलिसान सराफुले २१ रन बनाउँदा ओसामा हसनले १६ तथा शेयद हैदारले १५ रन जोडे। अंश टण्डनले १२ रन बनाउनुबाहेक अन्य कुनै पनि खेलाडीले दोहोरो रनको स्कोर छुन सकेनन्।

नेपाललाई सहज जित दिलाउन सागर ढकालले ३ विकेट लिए। पवन सरार्फ, सूर्य तामाङ र रासिद खानले समान २-२ विकेट लिए। कमल सिंह ऐरीले १ विकेट लिएका थिए।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको नेपालले पुरै ५० ओभर खेल्दै ९ विकेट गुमाएर २८५ रन बनाएको थियो ।

कमजोर सुरूवात गरेको नेपालका लागि कप्तान रोहित पौडेल र आसिफ शेखले तेस्रो विकेटका लागि ७१ रनको साझेदारी गर्दै सम्मानजनक योगफलतर्फ डोहर्‍याएका थिए।
ओपनर रित गौतम पहिलो बलमै आउट भएपछि पवन सर्राफ पनि चौथो ओभरमा शून्य रनमै आउट भए।

१९ औं ओभरमा आसिफ ४५ रनमा आउट भएपछि नेपालको तेस्रो विकेट गुम्यो। ५४ बल खेलेका उनले ८ चौका प्रहार गरेका थिए।

त्यसपछि आसिफको विकेट पछि आएका सन्दीप जोरासँग रोहितले ८५ रनको साझेदारी गरे। ३३ औं ओभरमा ६७ रन बनाएर आउट भएका रोहितले ८३ बल खेल्दै ८ चौका र १ छक्का प्रहार गरेका थिए।

रोहित पौडेल

त्यसपछि लगातार विकेट गुमाएको नेपालका लागि भीम शार्की १ रन बनाएर लगत्तै ओभरमा आउट भए। त्यसपछि अर्धशतक पुरा गर्न २ रनले चुक्दै जोरा पनि आउट भए। जोराले ५३ बल खेलेर ६ चौका प्रहार गर्दै ४८ रन बनाए।

त्यसपछि आएका कुशल मल्लले २२ बलमा १ चौका र २ छक्कासहित २२ रन बनाएर आउट हुँदा नेपाल ४१ ओभरमा २०६/७ को अवस्थामा थियो।

त्यसपछि तल्लो क्रममा रासिद खान र कमल सिंह ऐरीले आक्रामक ब्याटिङ गर्दै नेपालको योगफल २५० पार गराए। ४९ बलमा रासिद र कमलले ७० रनको साझेदारी गरेका थिए।

५० औं ओभरमा आउट हुनुअघि कमलले २६ बल खेल्दै ५ चौका र २ छक्कासहित ४१ रन बनाए। सोही ओभरमा आउट भएका रासिदले ४४ बलमा ४४ रन बनाउने क्रममा ५ चौका र १ छक्का प्रहार गरे।

सागर ढकालले २ रन बनाउँदा सूर्य तामाङ शून्य रनमा अभिजित रहे।

युएईका लागि अक्षा ताहिर र संचित शर्माले समान ३/३ विकेट लिए। केपी मेयाप्पनले २ र रिशभ मुखर्जीले १ विकेट लिएका थिए।

समूह ‘बि’ मा रहेका नेपाल र युएई दुवै टिम लगातार दुई खेलमा पराजित हुँदै सेमिफाइनल दौडबाट बाहिरिसकेका छन्।

यो समूहबाट श्रीलंका र बंगलादेशले अन्तिम चारमा स्थान बनाउँदा समूह ‘ए’ बाट भारत र अफगानिस्तान सेमिफाइनलमा पुगेका छन्।

प्रकाशित मिति: : 2019-09-10 16:35:18

प्रतिकृया दिनुहोस्