अफगानिस्तानले बंगलादेशमा जारी त्रिकोणात्मक सिरिज अन्तर्गत आफ्नो पहिलो खेलमा जिम्बाबेलाई २८ रनले पराजित गरेको छ। बंगलादेश, जिम्बाबे र अफगानिस्तान बीच जारि त्रिकोणात्मक सिरिज पहिलो खेलमा बंगलादेशसँग शुक्रबार ३ विकेटले पराजित भएको जिम्बाबेको यो लगातार दोस्रो हार हो।
शेरे बंगला स्टेडियम ढाकामा सम्पन्न खेलमा अफगानिस्तानले पहिले ब्याटिङ गर्दै दिएको १९८ रनको लक्ष्य पछ्याउने क्रममा जिम्बाबेले २० ओभरमा ७ विकेट गुमाएर १६९ रन मात्र बनाउन सक्यो।
उसका लागि रेगिस चकाभाले सर्वाधिक अविजित ४२ रन बनाए। एक समय ९६ रनमा ६ विकेट गुमाईसकेको अवस्थामा चकाभा र नेभिल्ले म्याडजिभाले सातौं विकेटको लागि ४५ रनको साझेदारी गर्दै ठूलो हार बाट जोगाए।
अफगानिस्तानका लागि रासिद खान र फरिद मलिकले समान २/२ विकेट लिए।
यसअघि टस हारेर पहिले ब्याटिङ गरेको अफगानिस्तानको लागि नाजिबुल्लाह जद्रानले सर्वाधिक ६९ रन बनाए। ३० बल खेलेका उनले ५ चौका र ६ छक्का प्रहार गरेका थिए।
स्तै ओपनर रह्मनुल्लाह गुर्बाजले २४ बलमा ४३ रन बनाउँदा मोहम्मद नाबीले १८ बलमा ३८ रन जोडे।
९० रनमा ४ विकेट गुमेको अवस्थामा जद्रान र नाबीले पाँचौ विकेटको लागि १०७ रनको साझेदारी गर्दै टिमलाई ठूलो योगफलतर्फ डोर्याएका थिए।
टेन्डाइ चताराले गरेको अफगानिस्तान इनिङको १७ औं ओभरको अन्तिम ४ बलमा मोहम्मद नाबीले लगातार ४ छक्का प्रहार गरेका थिए। त्यस लगत्तै नेभिल्ले म्याडजिभाले गरेको १८ औं ओभरको पहिलो ३ बलमा नजिबुल्लाह जद्रानले ३ छक्का प्रहार गरेका थिए।
जिम्बाबेका लागि चतारा र सिन विलियम्सले २-२ विकेट लिए।