भारतले यसै साता सातौं पल्ट युथ–१९ एसिया कपको उपाधि जित्यो। फाइनलमा बंगलादेशलाई ५ रनले पराजित गर्ने क्रममा बायाँहाते स्पिनर अथर्व अङ्कोलेकरले ५ विकेट लिए।
महाराष्ट्रको अंधेरीमा बसोबास गर्ने अथर्वले भारतको युवा टोलीमा स्थान बनाउन ठूलो संघर्ष गर्नुपर्यो। उनको बुवाको निधन ९ वर्षअघि सन् २०१० मा भएको थियो। यसपछि आमा वैदेहीले घर सम्हालिन्।
अथर्वका बुवा भारतको सरकारी बस सेवा ‘बेस्ट’ को ‘कन्डक्टर’ पदमा काम गर्थे। उनको असमायिक निधनपछि त्यो जागिर आमाले पाइन्।
आफ्नो छोराले देशका लागि खेल जिताउँदा आमा बिहान काममा निस्किसकेकी थिइन्। त्यसैले उनले खेल सुरु भएको पत्तो नै पाइनन्। उनी गाडीबाटै अथर्वको साथीलाई फोन गरेर खेलको जानकारी लिन्थिन्।
मृत्यु शैंयाबाट उठेका बडीबिल्डर सुकदेव कार्की
बंगलादेशलाई जितका लागि मात्र १ सय ७ रनको लक्ष्य भारतले पस्किएको थियो। दोस्रो इनिङमा जतिबेला अथर्व बलिङका लागि क्रिजमा उत्रिए, त्यति बेला आमाको ‘ड्युटी’ समाप्त भइसकेको थियो र उनी खेल हेर्न सिधै घर फर्किइन्।
अथर्व क्रिजमा आउदा आमाको मुटु ढुकढुक भएको थियो। उनले बंगलादेशी कप्तान अकबर अलीको विकेट लिएपछि भारत खेलमा फर्कियो। अकबल तिनै ब्याट्सम्यान थिए, जसले सेमिफाइनलमा ९८ रन बनाएर आफ्नो देशलाई फाइनल प्रवेश गराएका थिए।
बंगलादेशले एक सय रन पुरा गर्दा अथर्व बलिङ क्रिजमै थिए। यति बेला आमा निकै तनावमा थिइन। ‘मलाई लाग्यो–भारतले हार्यो भने मेरो छोरामाथि प्रश्न उठ्ने त होइन?’ आमाले भनिन्।
आमा त आमा नै हो। सन्तानको भविष्यप्रति चिन्तित त भइहाल्छन नि। तर, आमाले सोचे जस्तो भएन। अथर्वले अन्तिम विकेट पनि लिएर भारतलाई जित दिलाए।
अथर्वको कान्छो भाई पनि युथ–१४ टिमका सदस्य हुन्। आर्थिक अवस्था खराब भएका कारण अथर्व क्रिकेट अभ्यासका लागि १५ किलोमिटर टाढा रहेको एमआइजी बसबाट पुग्ने गर्थे। गह्रौं क्रिकेट किट्स र कडा अभ्यास सत्रका कारण थुप्रै पल्ट अथर्वले क्रिकेटबाट बिदा लिने मन बनाएका थिए।
तर, उनलाई आमाले नै सम्झाउँथिन्, ‘राम्रो खेल। कार किन्नु पर्छ कुनै दिन। तिम्रो कारमा मलाई पनि घुमाउनु।’
१८ वर्षका अथर्व मुम्बईको रिजवी कलेजमा दोस्रो वर्षका छात्र हुन्। उनले ९ वर्षअघि एक अभ्यास खेलमा भारतीय क्रिकेटका धरोहर सचिन तेन्दुलकरलाई आउट गरिसकेका छन्। युथ–१९ टिमका लागि अथर्वले ७ खेलमा १५ विकेट लिइसकेका छन्। उनले फाइनलमा ८ ओभरमा २८ रन खर्चेर ५ विकेट लिएका थिए। उनलाई अहिले भारतीय क्रिकेटको भविष्यको रुपमा हेरिएको छ।