भारतीय पूर्व कप्तान सुनिल गावस्करले भारतलाई सन् २०११ मा विश्व कप उपाधि दिलाएका कप्तान महेन्द्रसिंह धोनीले सन्यास लिने बेला आएको बताएका छन्।
धोनीलाई उनको सम्मानमा अन्तिम खेल खेल्न दिनुपर्ने बताउँदै गावस्करले उनको विकल्पको रुपमा ऋषभ पन्तले राम्रो गर्ने दावी गरेका छन्।
अस्ट्रेलियामा अघिल्लो वर्ष आयोजना हुने टि–२० विश्व कपमा भारतले युवा खेलाडीमा विशेष ध्यान दिनुपर्ने उनले बताए।
पन्तले पछिल्लो ४ टि–२० खेलमा राम्रो प्रदर्शन गर्न सकेका छैनन्। यी खेलमा उनले एउटा मात्र अर्धसतक बनाएका छन्।
पन्तको खराब प्रदर्शनका कारण अहिले प्रशिक्षक रवी शास्त्रीलगायत टिमका अन्य सदस्य पनि चिन्तित छन्।
गावस्करले भने, ‘धोनीले भारतीय क्रिकेटका लागि थुप्रै योगदान गरेका छन्। तर अब उनले सोच्ने बेला आएको छ। उनलाई सम्मानका साथ विदाईं गर्नुपर्छ।’
धोनीले विश्व कपमा भारत पराजित सेमिफाइनल खेलयता कुनै अन्तर्राष्ट्रिय खेल खेलेका छैनन्। उनी विगत दुई महिनादेखि भारतीय टिम बाहिर छन्। उनले वेष्ट इन्डिज भ्रमण र दक्षिण अफ्रिकाविरूद्ध शृंखला खेलेनन्।
गावस्करले बंगलादेशविरूद्ध अघिल्लो शृंखलाका लागि धोनीको स्थानमा पन्तको छनोट गरिनुपर्ने बताए। उनले पन्तलाई नछानिएको खण्डमा सन्जु श्यामसन राम्रो विकल्प हुन सक्ने बताए।