बेलबारी गाेल्डकपमा मदन भण्डारी एकेडेमी अन्तिम चारमा

बलका लागि प्रतिस्पर्धा गर्दै गोर्खा (पहेंलो जर्सी) र एकेडेमी (सेतो जर्सी) का खेलाडी । बिएल

मोरङको लक्ष्मीमार्गमा जारी तेस्रो बेलबारी अन्तर्राष्ट्रिय आमन्त्रण गोल्डकप फुटबल प्रतियोगितामा मदन भण्डारी स्पोर्टस एकेडेमी काठमाडौं अन्तिम चारमा प्रवेश गरेको छ।

सोमबार सम्पन्न तेस्रो क्वार्टरफाइनल खेलमा गोर्खा ब्वाईज क्लब बुटवललाई ३–२ गोल अन्तरले निराश बनाउँदै एकेडेमी सेमिफाइनलमा पुगेको हो। एकेडेमीका तर्फबाट तपन कार्की, प्रकाश बुढाथोकी र भुषण सुब्बाले १–१ गोल गरे। गोर्खाका तर्फबाट दुवै गोल दीपक राईले गरेका हुन्।

पहिलो हाफको सुरुवातमै अग्रता लिए पनि खेलाडीले लय गुमाउँदा गोर्खा नतिजा विपक्षीलाई सुम्पिएर घर फर्कियो। गोर्खाको सेमिफाइनल यात्रामा पूर्ण बिराम लाग्नुमा रक्षापंक्ती र गोलरक्षक सोजित गुरुङको गल्ती देखियो। खेलमा उत्कृष्ट प्रदर्शन गरेको एकेडेमीले पनि जितका लागि निक्कै संघर्ष गर्नु पर्यो।

गोर्खाका दीपक राईले १८ औं मिनेटमा पहिलो गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए। विजय धिमालले दिएको क्रस पासमा गोलरक्षक रोहित कार्की अगाडि बढेको मौका छोपेर बललाई भली गर्दै राईले दर्शनीय गोल गर्दा एकेडेमी दबाबमा पर्यो। तर गोर्खाको यो खुसी ६ मिनेट मै अन्त्य भयो।

२४ औं मिनेटमा जवाफी गोल फर्काउँदै तपन कार्कीले खेललाई बराबरीमा ल्याएर एकेडेमीलाई खेलमा फर्काए। गोर्खाका रक्षा पंक्तीका खेलाडी अलमलमा परेको र गोलरक्षक सोजित गुरुङ अगाडि बढेको मौकामा उमेश कार्कीले दिएको क्रस पासलाई सदुपयोग गर्दै तपनले भली गरेर बललाई पोस्टको दिशा दिएका हुन्।

रोकिएको जीन्दगीलाई चल्न सिकाउनेहरू (भिडियो)

पहिलो हाफ १–१ गोलको बराबरीमा सकियो। ७४ औं मिनेटमा एकेडेमीका प्रकाश बुढाथोकीले गोल गर्दै खेललाई २–१ को गोल अन्तरमा लगेर आफ्नो टिमलाई जित नजिक पुर्याए। तपन कार्कीले मध्यभाग अघिबाट दिएको पासमा एक्लै अघि बढेका बुढाथोकीले वान भर्सेस वानको स्थितिमा बललाई जाली चुमाउँदा गोर्खा तनावमा पर्यो।

७९ मिनेटमा भुषण सुब्बाले व्यक्तिगत पहिलो र टिमका लागि तेस्रो गोल गर्दै एकेडेमीको जित निश्चित गर्दा गोर्खा निराश बन्यो। अघि बढेका गोलरक्षक सोजित गुरुङले बललाई नियन्त्रणमा लिन नसक्दा खाली पोस्टमा २५ यार्ड टाढाबाट सुब्बाले गरेको प्रहारले पोस्टको बाटो लिएको थियो।

८१ औं मिनेटमा दीपक राईले गोल गर्दै खेललाई ३–२ को अवस्थामा पुर्याए पनि गोर्खालाई जितका लागि पर्याप्त हुन सकेन। राईले करिव ४० यार्ड टाढाबाट गरेको फ्रिकिक प्रहारले सिधै पोस्टको बाटो तय गर्दा एकेडेमीका गोलरक्षक रोहित कार्कीले ठम्याउनसम्म पनि सकेनन्।

दोस्रो विश्व युद्वका ९९ वर्षीय वार भेट्रान: भिसी नपाएको झोकमा पल्टन छोडे (भिडियाे सहित)

दुवै टिमले गोल गर्नका लागि पाएका अरु केही राम्रा अवसर सदुपयोग गर्न सकेनन्। ४ औं मिनेटमा एकेडेमीका तपन कार्कीले वान भर्सेस वानमा गरेको प्रहारलाई उत्कृष्ट ढंगले बचाउँदै गोर्खाका गोलरक्षक गुरुङले आफ्नो टिम विरुद्ध सुरुवाती गोलको संकट टारेका थिए। २७ औं मिनेटमा कार्कीको पासमा सुशन तामाङले वान भर्सेस वानको स्थितिमा गरेको प्रहारमा पनि गुरुङ बाधक बने। ६१ औं मिनेटमा भुषण सुब्बा पनि वान भर्सेस वानमै चुके।

४३ औं मिनेटमा गौतम श्रेष्ठको कर्नर प्रहारमा सुशील लामाको प्रहार क्रस बारमाथिबाट बाहिरिएपछि गौर्खाले मध्यान्तर अघि दोस्रो गोल गर्न सकेन । ७२ औं मिनेटमा दीपक राईको पासमा भुवन बस्नेतको प्रहार क्रस बारमाथिबाट बाहिरिनु गोर्खाका लागि दुर्भाग्यपूर्ण बन्यो । ७८ औं मिनेटमा गोर्खाका दीपकको प्रहार रोक्दै गोलरक्षक गुरुङले खेललाई बराबरी हुन दिएनन् । उत्तम गुरुङको पासमा ८४ औं मिनेटमा दीपकले नै टाउकोले गरेको प्रहार पहिलो बार हुँदै बाहिरिएपछि गोर्खाको हार निश्चित बन्यो ।

साहसिक पर्यटन र जुम्ला रारा म्याराथन (भिडियोसहित)

प्रतियोगिता आयोजक डाँगीहाट युथ क्लबका अध्यक्ष विक्रम वान्तवा राईकाअनुसार सोमबारको खेलको म्यान अफ दी म्याच मदन भण्डारी एकेडेमीका तपन कार्की घोषित भएको बताए । मंगलबारको अन्तिम क्वार्टरफाइनल खेलमा विभागिय टिम नेपाल पुलिस क्लब र रोयल क्लब वेष्ट बंगाल भारतबीच प्रतिस्पर्धा हुनेछ ।  

 

प्रकाशित मिति: : 2019-09-23 21:47:57

प्रतिकृया दिनुहोस्