नेपाली क्रिकेट टिमको कप्तानमा ज्ञानेन्द्र मल्ल

फाइल तस्बिर

नेपाल क्रिकेट संघ (क्यान)ले राष्ट्रिय क्रिकेट टिमको कप्तानको जिम्मेवारी ज्ञानेन्द्र मल्ललाई दिएको छ । यस्तै दीपेन्द्र सिंह ऐरीलाई उपकप्तानको जिम्मेवारी दिइएको छ ।

पारस खड्काले कप्तानबाट दिएको राजीनामा स्वीकृत गर्दै संघले नयाँ कप्तान छनोट गरेको हो ।

संक्रमणकालीन समय भएकाले अर्को निर्णय नहुन्जेल ज्ञानेन्द्रलाई कप्तान तोेकेको संघका महासचिव अशोकनाथ प्याकुरेलले बताए । उनका अनुसार तत्काल हुन लागेको एमसीसीविरुद्धको सिरिज र अर्को निर्णय नहुँदासम्म उनले नै नेपाली टिमको कप्तानी गर्नेछन् ।

क्रिकेट संघको निलम्बन भएको गएको असोज २८ गते खड्काले कप्तान पद छाड्ने घोषणा गरेका थिए । उनले आइतबार मात्र इमेलमार्फत क्रिकेट संघमा राजीनामा बुझाएका थिए ।

पारसले एक दशकसम्म राष्ट्रिय टिमको कप्तानी गर्दा ज्ञानेन्द्र उपकप्तानको भूमिकामा थिए । यसअघि पारसको अनुपस्थितिमा उनले नै कप्तानी गर्दै आएका थिए ।

उनी घरेलु फ्रेन्चाइस लितपुर प्याट्रिओट्सका कप्तान हुन् । उनले पछिल्लो सिजनको एभरेस्ट प्रिमियर लिग (इपिएल) आफ्नो टिमलाई च्याम्पियन बनाएका थिए।

नेपालले घरेलु मैदानमा एमसीसीसँग टी–२०, एक दिवसीय र दुई दिवसीय सिरिज खेल्नेछ । त्यसका लागि एमसीसी टिम नोभेम्बर एक तारिखमा नेपाल आउदैछ ।

 

प्रकाशित मिति: : 2019-10-30 14:54:16

प्रतिकृया दिनुहोस्