फेलिक्सलाई 'गोल्डेन ब्वाई' २०१९ को उपाधि

तस्बिरः एजेन्सी

स्पेनीस क्लब एट्लेटिको मड्रिडका युवा स्टार जोआ फेलिक्सले गोल्डेन बोई अवार्ड जितेका छन्।युरोपियन क्लब फुटबलमा २१ वर्ष मुनिका उत्कृष्ट खेलाडी बन्दै पोर्चुगलका फेलिक्सले गोल्डेन बोई अवार्ड जितेका हुन्।

इटालीको प्रतिष्ठित संचारमाध्यम टुट्टोस्पोर्टले प्रदान गर्दै आएको यस अवार्ड जित्ने फेलिक्स एटलेटिको म्याड्रिडका दोस्रा खेलाडी बनेका छन्। यसअघि सन् २००७ मा अर्जेन्टिनी फरवार्ड सर्जियो अगुएरोले पनि यो उपलब्धि हासिल गरेका थिए।

फेलिक्सले यस उपाधि जित्ने क्रममा दोस्रो स्थानमा रहेका जेडन सान्चोलाई झन्डै दोब्बर मतअन्तरले हराए। फेलिक्सले ३३२ मत पाए भने सान्चोले १७५ मत पाए।

बेन्फिकामा गत सिजन १८ गोल गर्दै सनसनी मच्चाएका फेलिक्स यस सिजन १ सय १३ मिलियन पाउण्डमा स्पेनिस क्लब आएका थिए। यस सिजन उनले एट्लेटिकोबाट १० ला लिगामा २ गोल गरेका छन्।

अघिल्लो सिजन डिफेन्डर म्याथिस डे लिग्टले यस उपाधि जितेका थिए। त्यसअघि यस अघि यस अवार्ड वायन रुनी, लिओनल मेसी, पाउल पोग्बा, रहिम स्ट्रर्लिङ, मारियो बलाटेली, इस्को, एन्थोनी मार्सियल, म्याथिस डी लिग्ट, केलियन एमबाप्पेले जितिसकेका छन् ।

सन् २००३ देखि सुरु भएको यस अवार्डको पहिलो विजेता राफाएल भान डर भार्ट थिए। अवार्ड विजेताले फेरी दावेदारी दिन पाउने छैनन्। यस अवार्डका लागि इटाली र अन्तर्राष्ट्रिय फुटबलका शीर्ष ४० पत्रकारहरुले मतदान गर्ने प्रावधान रहेको छ।

प्राप्त मत :

१. जोआओ फेलिक्स (३३२ मत)

२. जेडन सान्चो (१७५ मत)

३. काई हाभर्टज (७५ मत)

४. अर्लीङ हालान्ड (७४ मत)

५. माथिस डे लिग्ट (७१ मत)

६. अन्सु फाती (४९ मत)

७. फिल फोडेन (४६ मत)

८. जियानलुइजी डोनारुम्मा (३७ मत)

९. निकोलो जानीओलो (३६ मत)

१०. डोनेल मालेन (३५ मत)

प्रकाशित मिति: : 2019-11-28 07:45:51

प्रतिकृया दिनुहोस्